पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि र कक्षा १२ को परिक्षा रोकिएको प्रति विद्यार्थी संगठनहरुको आपत्ती
दमक/ सत्तारुढ बिभिन्न राजनीतिक दलहरुका विद्यार्थी संगठनहरुले सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको र कक्षा १२ को परिक्षा रोकेको प्रति आपत्ति जनाउदै संयुक्त बिज्ञप्ति निकालेर यसको विरोध गरेकाछन् । उनिहरुले यो सच्याउन समेत माग गरेकाछन् ।
प्रेस वक्तव्य
पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि र कक्षा १२ को परीक्षाको सन्दर्भमा यो वक्तव्य सार्वजनिक गरिएको छ ।
१. सरकारले पेट्रोलियम पदार्थमा पुन: मूल्यबृद्धि गरेको छ । पाँच विद्यार्थी संगठनको तर्फबाट हामीले जनतालाई सम्पूर्ण जानकारी नगराइकन मूल्य समायोजन मान्य नहुने चेतावनी दिएका थियौं । नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्यांकहरू लुकाएर, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा मूल्य बढाइएको छ । हामी बढाइएको मूल्य तत्काल फिर्ता गर्न र फिर्ता नगरिएमा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौं । सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत बृद्धिलाई खारेज गर्न पुनः माग गर्दछौं । गरिब जनतालाई नकारात्मक असर पर्ने कुनै पनि निर्णय नगर्न संयुक्त विद्यार्थी संगठनको तर्फबाट खबरदारी गर्दछौं ।
२. त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर आफ्ना धेरै परीक्षा सम्पन्न गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा सम्पन्न गरेको छ । विभिन्न सेवा आयोगका परीक्षाहरू धमाधम भइरहेका छन् । ती परीक्षाको कारण कोरोना फैलिएको कुनै प्रमाण फेला परेको छैन । सरकारले १८ वर्ष पुगेका विद्यार्थीलाई कोरोना खोप लगाउन सुरु गरेको र पछिल्लो एक हप्ता कोरोना संक्रमण घटेको देखिएको छ । कक्षा १२ को परीक्षा नहुँदा विद्यार्थीको भविष्य अन्यौलमा परेको, मानसिक तनावमा परेको, शैक्षिक क्यालेन्डर ध्वस्त हुने अवस्थामा पुगेको र विद्यार्थीहरू चरम आर्थिक मारमा परेको हुनाले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गर्न माग गर्दछौं ।