२०८१ कार्तिक १७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

झापा । मापसे गरी चलाएको मोटरसाइकलको ठक्करबाट झापामा एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ निवासी २३ बर्षीया दीक्षा प्रसाईँ (चम्लागाई) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मेची राजमार्गको चारआली-केचना सडक अन्तरगत भद्रपुर- ९ स्थित लक्ष्मी चोकमा बुधवार राती ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री दीक्षालाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गर्भवती दीक्षाको टाउको, दुवै हात र घुँडामा चोट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुरले थप उपचारका लागि राती नै लाइफलाइन अस्पताल दमक पठाएको थियो ।

दमक पुर्‍याउन साथ उनको मृत्यु भएको थियो । यता मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने चालक मेचीनगर नगरपालिका- १३ निवासी ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी थापाले बताए ।