ब्यवसायिकसंगै सामाजिक क्षेत्रमा पहिचान स्थापित गर्दै अजय अग्रवाल
दमक/ धेरै यूवालाई चाहाना हुन्छ कुनै बिकसित देशमा जाँउ । रमाईलो गरौ र उतै आफ्नो उज्वल भबिष्य बनाउ । यस्तै अवसरको खोजीमा हुन्छन् धेरै जसो युवा । यस्तो अवसर छाडेर आफ्नै ठाउँमा संघर्ष गरौ, केही गरेर देखाऔ सामाजिक रुपमा आफ्नो पहिचानलाई अघि बढाउ भन्ने सोच भने बिरलैमा मात्र पाईएला ।
उनी पढाईमा अब्बल दर्जामा गनिन्थे । परिवारको चाहाना पनि जहाँ गएर भए पनि राम्रो गरी उच्च शिक्षा हासिल गरोस भन्ने थियो तर उनलाई लाग्यो मेरो भबिष्य नेपालमा छ र ब्यापारबाट नै केही गर्न सक्छु । दमकमा मात्र नभएर झापा र पुर्वी नेपालमा नै अजय अग्रवाल भनेर नचिन्ने सायदै होलान । एउटा सफल ब्यवसायीसंगै एक सामाजिक युवा तथा सहयोगि हातको रुपमा उनले दमकमा आफ्नो पहिचानलाई दर्बिलो रुपमा उभ्याएका छन् ।
उनीसंगै सधै उठबस गर्नेहरुलाई पनि थाहा नहुनसक्छ उनको बिगतको जीवन । उनी क्यानेडामा गएर पढन चाहन्थे र त्यसको लागि छात्रबृत्ती समेत प्राप्त गरिसकेका थिए । तर उनले त्यो मोह त्यागे र यही केही गरेर देखाउने अठोट लिए । भद्रपुरमा जन्मेका र घरको ब्यापारमा सानैदेखि सहयोग गर्दै आएका उनलाई दमकमा ब्यापार गर्ने सोच पलायो । तर घर परिवार साथीहरुले त्यो बेला दमकमा भबिष्य नभएको बताए । तर उनले दमकको भबिष्यको उनको भित्रि चक्षुले हेरिसकेको थियो ।
२०५९ सालमा उनले अजय डिस्ट्रब्युटर्सको रुपमा आफ्नो ब्यवसाय शुरु गरे । शुरुका दिनमा त्यति सहज नभए पनि अहिले उनी दमकमा अब्बल दर्जाको सफल ब्यवसायीको रुपमा चिनिएका छन् । उनी यो सबै दमकबासीले दिएको माया र आफूप्रति राखेको सद्भावको फल भएको ठान्छन् । त्यहि भएर हुनसक्छ उनी दमकका लागि केही राम्रो काम गर्न पनि चाहन्छन् । उनी उद्यमको क्षेत्रमा पनि लागे ।
धेरैलाइ थाहा नहुन सक्छ उनको भित्री खुबी गीत संगितमा रहेको छ । उनी एक पियानो बाधक पनि हुन् । कुनै समय उनी संगीतमा निक्कै जमेर लागेका थिए । साथीभाइ भेला भएर रमाउँथे । अहिले पनि बेलाबेला उनलाई त्यो याद आउँछ । यस बिषयमा अहिले उठबस गर्ने साथीहरुलाई खासै थाहा नभएको उनले सुनाए ।
आफ्नो समाज सेवामा नाम राख्ने धोको रहेकाले त्यसमा लाग्ने उनी बताउँछन् । ब्यापार ब्यवसाय सिस्टमले चल्ने भएकाले आफ्नो लगाव सामाजिक कार्यमा लगाउने सोच रहेको उनी सुनाउँछन् । दमक जेसीजको कार्यकारी उपाध्यक्षसम्म बने । लायन्स क्लब अफ दमक माउण्ट एमरेष्टको अध्यक्षको हुँदै अहिले लायन्समा एउटा सफल लिडरको रुपमा अघि बढेका छन् । उनि लायन्स क्लव अफ नेपाल ३२५ ए वानका गर्भनर एड चिफ हुन् । लामो सयमसम्म मारवाडी सेवा समितिको कोषाध्यक्ष रहेर काम गरे ।
ब्यापार तथा ब्यवसायसंगै सामाजिक सेवालाई अगाडी बढाउदै आएका उनमा दमकमा फरक पहिचान बनाउने र फरक ब्यवसाय गर्ने इच्छाशक्ति रहेको छ । यसैको ध्याउन्नेमा उनी लागि परेका छन् । उनले झापालाइ औधोगिक रुपमा पनि चिनाउन सकिन्छ भनेर सामुहिक लगानीमा मै भएपनि मगमग चाँउचाउमा पनि लगानी गरेकाछन् ।
इमान्दारीताले सफलतामा पु¥याएको बताउँने उनले आफ्नो जिवनको कमाई भन्दा समाजलाई दिने योगदान ठूलो बनाउने धोको रहेको पनि सुनाउछन् । बोल्ने भन्दा कम गर्नुपर्छ भन्ने स्वभावका अग्रवालले भने– दमकबासीले मलाई गरेको बिश्वास, मलाई दिएको हौसला र म प्रतिको ब्यवहारको सधै ऋणी छु ।
उनी सामाजिक क्षेत्रमा मन खुलाएर सहयोग गर्छन् । आपत बिपतमा परेकाहरुलाइ सहयोग र सेवा गर्दा सबैभन्दा बढि आनन्द आउने उनको भनाइ छ । उनी दमकको एउटा सहयोगि हातको रुपमा चिनिदै आएका पनि छन् ।