२०७८ मंसिर २०, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

बिष्णुप्रसाद पोखरेल

दमक । झापाको दमकमा ब्यवस्थित ढल निर्माणको लागि काम भइरहदा सडकहरु भत्केर अस्तब्यस्त भएको अवस्थामा अब सबै सडकहरु कालोपत्रे हुने भएकाछन् । सडकहरुलाई ‘आसफाल्ड’ प्रविधिको कालोपत्रेको काम सोमबारदेखि शुरु भएको छ । बढिमा २ बर्षभित्रमा दमकका मुख्य तथा साहयक सडकहरु स्तरउन्नती सहितको कालोपत्रे पुरा हुने बताईएको छ ।

तत्काल ढलको काम सकिएका सडकहरुमा काम शुरु भएको र ढलको काम संगसंगै सडकहरुलाई कालोपत्रे गर्ने काम पनि अघि बढ्ने स्वामिनारायण निर्माण सेवा विराटनगरका प्रोजेक्ट मेनेजर भोलाप्रसाद चौधरीले बताउनु भयो । कुल ३८ किलोमिटर सडक किनारमा ढल विस्तार हुनु पर्नेमा ८ किलोमिटरमा पुरा भएको पनि उहाँले बताउनु भयो ।

अहिले ८ किलोमिटर सडक नै भत्केका कारणले गर्दा स्थानीयहरु आक्रोशित बनेको अवस्था थियो । दमक नगरपालिका अन्तर्गत १, २, ३, ५, ६, ७ र ८ वडामा ढलको पाइप विस्तार गर्ने काम हुँदा सडक पुर्ण रुपमा भत्कने गरेको छ । सडक बनाउने जिम्मा भने स्वामिनारायण निर्माण सेवा विराटनगरले दमकको वल्र्डट्रेड कन्र्टक्सन प्रा.लि. दमकलाई दिएको छ ।

वल्र्डट्रेड कन्र्टक्सन प्रा.लि.का डाईरेक्टर पशुपति बरालका अनुसार तत्काल १ महिनाभित्रमा कम्तिमा पनि ८ किलोमिटर सडक ‘आसफाल्ड’ प्रविधिबाट पीच गरिक्ने गरी काम शुरु भएको छ । पाईपलाईन विस्तार भइसकेका सबै ८ किलोमिटर सडक १ महिनाभित्रमा पुरा गरिसकिनेछ, उहाँले भन्नुभयो । यसभन्दा अघि पनि दमकमा आफुले यो प्रविधिबाट सडकहरुको स्तरउन्नती गरेको अनुभव रहेको उहाँको भनाई छ ।

दमकमा घरबाट निस्कने पानीजन्य फोहोर ढल प्रशोधन गरि विद्युत तथा मल उत्पादन गर्ने उदेश्य अनुरुप एक बर्ष अघिदेखि ब्यवस्थित ढल बनाउने कामको शुरुवात भएको थियो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्र्तगत यो काम भइरहेको छ । अहिले ढल व्यवस्थित रुपमा संकलन गर्न पाइपिङ गर्ने काम भइरहदा अधिकाँश सडकहरु भत्केकाछन् ।

ढल निर्माणको क्रममा भत्केका सडकहरु बनाउने जिम्मा पनि ढल निर्माण गर्ने कम्पनीको नै रहेकाले सडकहरु बनाउने काम उसैले शुरुवात गरेको दमक नगरपालिकाका ईन्जिनियर भिम पौडेल बताउनु भयो । हामी सडक गुणस्तरीय रुपमा बनोस भनेर निरन्तर अनुगमन गर्नेछौ, सडक पुन निर्माणको कामको उद्घाटन गर्दै उहाँले भन्नुभयो ।

प्रत्येक घरबाट उत्पादन हुने सेफ्टि टेङ्क, किचन, वाथरुमको धाराबाट निस्कने फोहोरजन्य पदार्थ विभिन्न क्षेत्रबाट एकै ठाउँमा संकलन गरिनेछ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका आयोजना प्रमुख विपुलकुमार लाल दासका अनुसार ढलको पानी प्रशोधन गरेर मल र विद्युत उत्पादन गर्न सकिन्छ ।