२०८३ असार १०, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/  भारतसंग सिमा जोडिएको झापामा कोरोना सक्रमणदर बढ्दो अवस्थामा रहेको छ । तेश्रो चरणको कोरोना संक्रमणदर र मृत्यु दर समेत बढ्दो अवस्थामा देखिन्छ । पछिल्लो एकसाताको अवधिमा जिल्लाका बिभिन्न ठाँउमा ५ जनाले ज्यान गुमाईसकेकाछन् भने सयौ संक्रमित भइरहेकाछन् ।

मानिसहरुले पछिल्लो समय कोरोना संक्रमणलाई सामान्य रुपमा लिने र हेल्चेक्राई गर्ने गरेको पाईन्छ । जसका कारण जोखिम अझ बढ्ने देखिन्छ । संक्रमण भएपनि आएर आफ्नो नियमित काम गर्ने र मानिसहरुको सम्पर्कमा रहने गरेको समेत भेटिन्छ । जसले गर्दा भोलि जटिल समस्या निम्तन सक्छ । अझ खोप हानिसकेपछि अब केहि पनि हून्न भने आमधारणा पनि पाएको छ । यसलाई पनि चिर्न सक्नुपर्छ ।

दमकको सरकारी अस्पताल दमक अस्पतालका एक दर्जनभन्दा बढि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ । दमक अस्पताल यस्तो अस्पताल हो जहाँ दैनिक १ हजारभन्दा बढि विरामी आउछन् । भिड थेगिनसक्नुको हुन्छ । किनकी यो दमक सहित यस क्षेत्रको नै सरकारी स्वास्थ्य बिमाको एकमात्र पहिलो बिन्दु हो । जहाँ दूईदिन लाइन लागेपछि बल्ल विराम जाँच हुन्छ । यहि भिडले भोली कोरोनाको महामारी नल्याउला भन्न सकिन्न ।

संघीय सरकार, स्थानीय तह र प्रशासनले २५ जनाभन्दा बढि भेला नहुन भनिरहेको छ । सामाजिक दुरी पालना गर्न आग्रह गरिरहेको छ । तर यहाँ विरामीको चाप थेगिनसक्नुको हुन्छ । यहाँबाट रेफर नभएर विरामीले अन्यत्र उपचार नपाउने अवस्थाले गर्दा विरामीका लागि अन्यत्र जाने विकल्प पनि रहदैन । यस बिषयमा स्थानीय सरकार र सरोकारवाला निकायहरु सबैले सोच्न आवश्यक छ । कमसेकम यो कोरोनाको अवधिभर सुचिकृत रहेका सबै अस्पताललाई पहिलो विन्दु सो सरह उपचारको लागि बन्दोबस्त गर्दा भिड कम हुन सक्छ ।

एक त स्वास्थ्यकर्मीहरु नै संक्रमित रहेकाछन् । अर्को कुरा मानिसहरु बिरामी भएर मात्र अस्पताल आउने भएकाले कोरोना संक्रमित पनि आएको हुनसक्छ । सामाजिक दुरी कायम गर्न नसक्ने गरी भिड हुँदा के होला ? यस बिषयमा गम्भिर नबन्दा भोली दमक र आसपासमा स्वास्थ्य संकट उत्पन्न हुनसक्छ । यसर्थ पनि दमक अस्पतालमा हुने भिडलाई कम गर्ने उपायको खोजी तत्काल गरिनु पर्दछ । यसमा सरोकारवाला निकायहरु संवेदनशिल बन्नुपर्छ ।

कोरोना संक्रमण बढेसंगै अब कोरोना परिक्षणको दायरा पनि बढाउन आवश्यक छ । यसका लागि स्थानीय सरकारले अस्पतालहरुसंगको सहकार्यमा निशुल्क रुपमा कोरोना परिक्षणको ब्यवस्था मिलाउन आवश्यक छ । बिपन्नहरुले रकम अभावमा नै कोरोना संक्रमणको लक्षण देखिदा समेत कोरोना जाँच गराउन नसक्ने अवस्था हुनसक्छ । यो समुदायको लागि घातक हो । यसमा स्थानीय सरकारको ध्यान जाओस ।

 

ओमिक्रोन भेरियन्ट सम्बन्धी जानकारी (युनिसेफले वेभसाईडमा राखेको)

ओमिक्रोन भेरियन्ट कस्तो किसिमको भेरियन्ट हो?

ओमिक्रोन भेरियन्ट #COVID19 को सबैभन्दा पछिल्लो भेरियन्ट हो। यो भेरियन्ट अहिले नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ।

के ओमिक्रोन भेरियन्ट पहिलेको डेल्टा भेरियन्ट भन्दा बढी संक्रामक छ?

यो भेरियन्ट देखापरेको मुलुकहरूमा संक्रमण दर ह्वातै बढेको छ। तर यो ओमिक्रोन कत्तिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइसकेको छैन र यस बारे थप अध्ययन भइरहेको छ।

के कोभिड-१९ विरुद्धका खोपहरू ओमिक्रोन भेरियन्ट विरुद्ध पनि प्रभावकारी छन्?

ओमिक्रोन भेरियन्ट धेरै छिटो फैलिन सक्ने भेरियन्टका रूपमा देखा परेको छ। हाल वितरण भइरहेको कोभिड-१९ विरुद्धका खोपहरू यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरू अध्ययन गरिरहेका छन् र अहिले सम्म ठोस तथ्य पत्ता लागिसकेको छैन।

पहिले कोभिड-१९ संक्रमण भइसकेकालाई ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्छ?

सक्छ। पहिले कोभिड-१९ संक्रमण भइसकेकालाई समेत फेरी ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्छ।

ओमिक्रोन भेरियन्टबाट बच्न के गर्ने?

कोभिड-१९ का अन्य भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि मास्कको सही प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भिडभाड नगर्ने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने लगायतका सबै जनस्वास्थ्यका मापदण्डहरूको कडाइपूर्वक पालना गर्नुपर्छ र कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्छ।