भत्काईएको सडक कहिले बन्छ ? दमकको चमकलाई सडकको हविगतले नगिज्याओस
मैले जे देखे त्यहि लेखेँ
विष्णुप्रसाद पोखरेल
दमक/ नेपालको सूदुर पूर्वको पश्चिमोत्तर क्षेत्रमा अवस्थित पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको झापा जिल्लामा पर्ने दमकको उत्तर तर्फ ईलाम जिल्लाको चुलाचुली गाउँपालिका दक्षिण तर्फ गौरादह नगरपालिका, पश्चिम तर्फ मोरङ जिल्लाको मधुमल्ला गाउँपालिका र उर्लावारी नगरपालिका, र पूर्व तर्फ चुलाचुली गाउँपालिका र कमल गाउँपालिका रहेका छन । यस दमक नगरपालिको कुल क्षेत्रफल ७५.८५ बर्ग कि.मि रहेको छ।
बिभिन्न जनजातिहरुको बसोवास रहेको यस नगरीमा खास गरी बाहुन, क्षेत्री, धिमाल, लिम्वु, राई, मगर, सतार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी आदिको वाहुल्यता पाईन्छ । बि.सं. २०३९ सालमा तत्कालिन नगर पंचायतका नाउँमा स्थापित यो नगरपालिकाको क्षेत्रफल ७५१३ हेक्टर रहेको छ । यस नगरपालिकामा साविक का १९ वटा वडाहरु नेपाल सरकारद्वारा मिति २०७३-११-२७ गते गरिएको पुनःसंरचना अनुसार हाल १० वटा वडामा कायम रहि दमक नगरपालिका, नगरकार्यपालिकाको कार्यालय भएको छ । बिगत बर्ष देखि दमक नगरपालिकामा बुधवार हाटवजार लाग्ने चलन हालसम्म पनि यथावत रहेको छ ।-यो दमक नगरपालिकाको वेभसाईडमा रहेको दमकको परिचय हो ।
यतिमात्र नभएर यो संगै दमकको अर्को परिचय रहेको छ । ठुला फराकिला सफा सडकहरु । पछिल्लो समय भन्नुपर्दा रेलिङयुक्त सडकहरु । ढल सहितका कालोपत्रे सडकहरुको सञ्जालले भरिपुर्ण दमक । सफाई र सडक सञ्जालको हिसावले दमक बजार निक्कै सुन्दर मानिन्छ । यहाँका सडकहरु बनाउन स्थानीयले पनि लगानी गरेकाछन् । अर्थात जनसहभागिताले ठुला फराकिला सडक बनेको शहर वा नगर हो दमक ।
दमकमा घरबाट निस्कने पानीजन्य फोहोर ढल प्रशोधन गरि विद्युत तथा मल उत्पादन गर्ने योजनाहरु अहिले काम भइरहेको बताईन्छ । यो कामको क्रममा सडकहरु भत्काएर अस्तब्यस्त बनाईएको छ । दमकको त्यो सुन्दरता कुरुप बनाईएकोछ । हो नयाँ निर्माण हुँदा पुराना चिजहरु भत्कन्छन् । पुरानो नभत्कि नयाँ बन्दैन । तर भत्काएपछि बनाउन पनि त तत्काल लाग्नु पर्ने दायित्व सरोकारवालाहरुको होइन र ?
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्र्तगत दमक नगरपालिका ढल निर्माण योजनाको काम बढ्नु खुशिको नै खबर हो । पहिलो चरण अन्तर्गत ढल व्यवस्थित रुपमा संकलन गर्न पाइपिङ गर्ने काम भइरहदा सडकहरु तहसनहस देखिने गरी भत्काईएको पाईएको छ । दमक नगरपालिका अन्तर्गत १, २, ३, ५, ६, ७ र ८ वडामा ढलको पाइप विस्तार गर्ने काम हुने क्रममा भत्काईएको सडक उक्त काम हुनसाथ बनाउन लाग्न जरुरी रहेको छ ।
ब्यवस्थित ढलको पाइप राख्ने क्रममा बजारभित्रका कालोपत्रे सडक भत्काएर तत्काल नबनाउदा अहिले अस्तब्यस्ता देखिन्छ । दमकका सुन्दर सडकहरु कुरुप बनेको छ । दमकको पहिचानलाई नै खल्बल्याउने अवस्था जस्तो देखिन थालेको छ । दूई चारबर्ष अघि आएर कसैले देखेको दमक र यहाँको सडक अहिले आएर हेर्यो भने अर्कै कुरुप ठाँउमा आएजस्तो हुने अवस्था छ । भत्काएपछि बनाउनु पर्छ र त्यो पनि ढिलासुस्ति नगरी तत्काल बनाउदा के बिग्रन्छ ? पाईप गाडि सकिएको सडक पनि महिनौ किन बनिरहेको छैन ?
सडक भत्काएर अस्तब्यस्त छाडिदा एकातिर नगरबासिलाई सास्ति रहेको छ भने अर्कोतिर दमकको पहिचानमा पनि धब्बा लाग्ने अवस्था छ । अझ पानी पर्दा त दुर्घटना हुने सम्भावाना देखि लिएर मानिसहरु आवतजावत गर्न धेरै नै मुश्किल छ । पानी पर्दा हिलाम्मे भएर मुश्किल र पानी नपर्दा धुलोको समस्या स्थानीय नगरबासीले भोगिरहेकाछन् । यस बिषयमा सरोकारवाला निकायहरुको ध्यान जाओस । भत्काएपछि बनाउनु पर्छ । बनाउदैछौ र बनाउछौ भनेर उम्कने होइन चाँडो काम हुनुपर्छ ।
दमकमा ढल प्रशोधन केन्द्र स्थापना हुने भनिएपनि यो अझै धेरैलाई थाहा छैन । यो कस्तो कार्यक्रम हो र कसरी अघि बढ्छ भन्ने मुश्किलले कमैलाई मात्र थाहा होला । यति ठुलो कामको गुणस्तरीयताको सवाल पनि खास उठेको छैन । भत्काएको सडक बनाउने जिम्मा ढलको काम गरिरहेको निर्माण कम्पनीको नै भनिएको छ । भत्काएको भागमात्र बनाउने की सडक सबै बनाउने यो पनि अन्योल नै भएको देखिन्छ । यस बिषयमा पनि जनतालाई प्रष्ट बनाउन आवश्यक छ ।

