२०८३ असार १०, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

मैले जे देखेँ त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग-सँगै गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ। प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो। अ‍ैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुराहरू सहकारीकै रुप हुन्। आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो।

सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसि हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ। उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरमा समानरूपले आर्थिक उपलब्धिहरूको वितरण गरी सदस्यहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख न्यायिक उद्देश्य हो । यस्तो न्यायोचित धनको वितरणबाट समाजका कमजोर एवम् विपन्न वर्गको एकातिर आर्थिक उत्थान हुन्छ भने अर्कोतिर उनीहरूले सामाजिक न्याय र समानता पाउँछन्।

सहकारीको बिषयमा धेरै पढिएको र लेखिएको केहि अंश हो यो । साधरणतया सहकारी भन्नाले यहि नै बुझिएला । तर अहिले हामी आफु आवद्ध रहेको सहकारी र हामीले देखेको सहकारी यस्तो छ ? यो छलफल र बहस गर्ने समय आएको छ । सहकारी भन्ने तर बैंक जस्तो ब्यापार गर्ने वित्तिय संस्थाहरुलाई हामीले सहकारी भनिरहेका त छैनौ ? हाम्रो समाजमा नगण्यमात्रामा सहकारी सहकारी जसरी चलेको भन्ने लाग्छ ।

सहकारीका सदस्य अर्थात मालिकलाई गरिने ब्यवहार बैंकको भन्दा पनि निम्नस्तरको रहन्छ  । सहकारीका सदस्यलाई दासको ब्यवहार गरिन्छ । त्यहाँका कर्मचारी तथा सञ्चालकहरुको हालिमुहालि देखिन्छ । उनिहरुका अगाडि वास्तविक मालिक अर्थात सदस्य निरिह छ । सर्वसाधरण सदस्यले आर्थिक बिपतमा २/४ लाख रुपिया सहकारीबाट माग्ने हो तर त्यो समयमा सहकारीले दिदैन र सदस्यले पाउदैनन्  । सहकारीका उपल्लो तहका कर्मचारी र सिमित सञ्चालकको पेरीफेरी बाहेक अहिले सहकारीका सदस्यले सहकारीबाट ॠण नपाउने अवस्था छ । धेरैको एउटै गुनासो छ र जो मैले पनि देखेको छु ।

बैकहरु त ग्राहकको आर्थिक हैसियत र उसको आर्थिक सम्पन्नता हेरेर ॠण दिन बसेका पसलहुन् । उनिहरुले हेर्ने नै नाफा हो र जोखिम फिटिक्कै नहोस भन्ने हो तर पक्कै सहकारी त यो नहुनु पर्ने हो जस्तो लाग्छ । तर बैंक भन्दा कम छैन ।  अझ सहकारीलाई भजाएर कृत्रिम सदस्य (आफुले सिधै नमिल्ने भएपछि) खडा गरेर सहकारीका उपल्ला कर्मचारीहरुले करोडौ लगानी गरेकाछन् । देख्दा ठुला सहकारी र धेरै कारोबार गर्ने सहकारीहरुलाई नजिकबाट नियाल्दा यहि देखिन्छ ।

कतिपय सहकारीहरु भागेको र अप्ठेरो परेको समचारहरु पनि आउछन् त्यसको कारण नै सञ्चालक तथा कर्मचारीहरुहुन् भन्दा फरक नपर्ला । केहि बर्षयता दमकमा केहि सहकारीको बिषय सार्वजनिक पनि भएको छ । जहाँ सञ्चालक र कर्मचारीहरुको नै फट्याई देखिन्छ । जो आफुलाई मालिक सम्झेर सहकारीमा रकम जम्मा गर्छ उ पीडित भएको छ । सहकारीको परिभाषा एउटा छ तर ब्यवहार अर्को छ ।

सहकारीका सदस्य मालिकहुन् भन्ने अनुभुत सहकारीका कमै सदस्यले मात्र गरेको हुनुपर्छ । कागजमा बाहेक सहकारीका सदस्यले कहिल्यै पनि  कर्मचारीहरुबाट न सम्मान पाउछन् न त आपत् बिपतमा सारथी बनेको नै महसुस गर्छन् । सदस्यहरुबाट नै निर्वाचित भएपछि बनेका सञ्चालकहरुले सदस्यहरुलाई पनि राम्रो र समान ब्यवहार गरेको देखिन्न  । समग्रमा भन्नुपर्दा सिमित र केहि अपवाद बाहेकका सहकारीहरु नाफा कमाउन बसेका पसल भएकाछन् । कर्मचारीहरु त्यसको मालिक बनेकाछन् । सञ्चालकहरुले कानूनी चाँजोबाजो मिलाउने गर्छन् । सहकारीको वर्तमान अवस्था यस्तै छ भन्ने मलाई लाग्छ ।

सहकारी हुनलाई केहि विशेषताहरु आवश्यक पर्छन् । ति विशेषता बोकेका सहकारीहरु हामीमाझ कति होलान ? यो सबै सदस्यहरु महसुस गर्नु भएको होला । नेपाली बृहत् शब्दकोशका अनुसार सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पूँजि भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पूँजि तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था भनिएको छ । तर विडम्बना यो त सिमित वर्ग र त्यो पनि सम्पन्न बर्गका लागि मात्र सहकारी भन्ने अवस्था देखिन्छ ।

हामीले बिभिन्न पुस्तक तथा गुगलमा सहकारीको बिषयमा खोजि गर्दा ७ वटा अन्तराष्ट्रिय सिद्धानतहरु भेटिन्छन् । त्यहाँ लेखिएको अनुसार सहकारीहरु चलेकाछन् त यो सबै सहकारीका सदस्यहरुले एक पटक हेरेर आफ्नो सहकारीको साधरण सभामा आवाज उठाउनु पर्दछ ।

सहकारीका ७ अन्तराष्ट्रिय सिद्धान्तहरुः

१. स्वैच्छिक तथा खुला सदस्यता

सहकारी संस्था एक स्वच्छिक संगठन भएकोले यसको यसको सदस्यता पनि स्वेच्छिक हुन्छ । जुनसुकै जाति, धर्म र भेषभुषाका मानिसहरुले सहकारीको सदस्यता लिन र आफूलाई मन नपरेमा सदस्यता त्याग्न सक्छन । संस्थाको सेवा उपभोग गर्न र जिम्मेवारी वहन गर्न इच्छुक जो सुकै व्यक्तिहरुले विना भेदभाव सदस्यता प्राप्त गर्न सक्दछन् । यसको सदस्यता सदैव खुल्ला हुन्छ ।

२. सदस्यद्धारा प्रजातान्त्रिक नियन्त्रण

यस सिद्धान्त अनुसार सहकारी संस्थाहरुमा सदस्यहरुद्धारा सदस्यकै लागि प्रजातान्त्रिक नियन्त्रण पद्धति अपनाईन्छ । सदस्यहरु मध्ये बाटै प्रजातान्त्रिक पद्धतिद्धारा कार्य समिति तथा उप समितिका सदस्यहरु बहुमत सदस्यको स्वीकृतिमा नीति निर्र्णातय गरी लागू गरिन्छ र्। एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्त अर्न्तर्गत सञ्चालन हुने प्रारम्भिक सहकारी संस्थाहरुमा एक व्यक्ति एक मतको अधारमा समान मताधिकार हुन्छ ।

३. सदस्यको आर्थिक सहभागिता

यस सिद्धान्त अनुसार सहकारी संस्थामा सदस्यहरु आफ्नो लगानीको आधारमा न्यायिक रुपमा आर्थिक सहभागिता जनाउँछन् । संस्था नाफामा गएमा सदस्यहरुले नाफाको केही अंश संरक्षित पूँजीकोषको रुपमा सिमित बचत फिर्ता पाउँछन् र संस्थामा रहेको सम्पत्ति सवैको साझा हुन्छ । सहकारी संस्था सेवामूलक व्यबसाय भएकोले यसबाट आर्जित मुनाफालाई सदस्यहरुकै हित अर्थात संस्थामा जगेडा कोष खडा गर्न, ऋण सुरक्षण कोष स्थापना गर्न, संस्थाको विकास गर्न, सदस्यहरुलाई राहत दिन र सदस्यहरुद्धारा स्वीकृत विभिन्न कार्यक्रमहरुमा खर्च गर्ने ब्यबस्था गरिन्छ ।

४. स्वायत्तता र आत्मनिर्भरता

सहकारी संस्था एक स्वायत्त निकाय भएकोले प्रचलित सहकारी ऐन, नियम तथा कानुन सँग नबाझिने गरी यसको सञ्चालन, सर्म्वर्द्धन गर्न आफ्नो नीति तथा कार्यक्रम आफै बनाउन र लागू गर्न सक्छ । यो एक आत्मनिर्भर संस्था भएको कारण पूँजी संकलन तथा लगानी गर्दा पारदर्शि तथा न्यूनतम आर्जनदर कायम गरी आत्मनिर्भर बन्न सक्दछ ।

५. शिक्षा, तालिम र सूचना

सहकारी संस्था प्रभावकारी रुपमा सञ्चालन गर्न र आफ्ना सदस्यहरुलाई सुसुचित गराउन विभिन्न खालका शिक्षा तथा तालिम कार्यक्रमको आयोजना गरी संस्थाका पदाधिकारी एवं सदस्यहरुलाई संस्था सञ्चालन गर्न योग्य बनाउछ । सहकारीको सञ्चालन, लाभ तथा विकासको वारेमा सदस्यहरुलाई सूचना प्रदान गरी चेतना जगाउने कार्य गर्दछन् ।

६.सहकारी संस्थाहरुका वीच सहयोग

यस सिद्धान्त बमोजिम सहकारी संस्थाहरु वीच आपसमा सहयोगहरु आदान प्रदान गरी स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा संचालन हुन्छन् । विभिन्न अन्तरक्रिया कार्यक्रमहरु, सामाजिक उन्नतीका साझा कार्यक्रमहरु आयोजना गरी आफ्ना सदस्यहरु र स्थानिय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संरचनामा सहभागि भई सहकारी आन्दोलनलाई र्मूतरुप दिन योगदान पु(याउछन् ।

७. समूदाय प्रति चासो

यस सिद्धान्त बमोजिम सहकारी संस्थाहरुले आफ्ना समूदाय प्रंति र्पूण चासो राख्दछन् । समूदायका सदस्यहरु सम्मिलित भई समूदायकै सदस्यको हीतको निमित्त संचालित संस्था भएकोले समाजको विकास, विस्तार र चेतना अभिवृद्धि आदि कार्यहरुमा सहभागि भई समूदायको दिगो विकास गर्न लागि पर्दछन् ।