दमकमा लिफ्ट र अण्डरग्राण्ड पार्किङ सुविधा सहितको वार्ड कार्यालय
विष्णुप्रसाद पोखरेल
दमक । झापाको दमकमा साढे ३ करोडभन्दा बढिको लगानीमा लिफ्ट र अण्डरग्राण्ड पार्किङ सुविधा सहितको वडा नं. ६ को वार्ड कार्यालय उद्घाटन भएको छ । वेवारिसे अवस्थामा दमकको सिद्रा बजारमा रहेको सरकारी जग्गामा सुविधा सम्पन्न वार्ड कार्यालय बनेपछि स्थानीयहरु पनि खुशि भएकाछन् ।
दमकको पुरानो शब्जि बजार नजिकै रहेको सरकारी जमिनको संरक्षण सहित तीन तले वार्ड कार्यालय बनेको हो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले वार्ड कार्यालयको उद्घाटन गर्दै यसले सेवा लिन आउने नागरिकहरुका लागि सहज हुने विश्वास लिईएको बताउनु भयो ।
अपाङ्ग मैत्री संरचना र लिफ्टका कारणले गर्दा अशक्तहरुका लागि समेत सेवा लिन आउनका लागि कठिनाई नहुने उहाँले बताउनु भयो । नगरपालिकाको मुख्य प्रशासनिक भवनमा समेत लिफ्टको सुविधा नरहेको अवस्थामा वार्ड कार्यालयमा लिफ्टको सुविधा रहेको हो । यो वार्ड दमकको मुख्य बजार क्षेत्र र अधिक चाप भएको वार्ड पनि हो ।
अधिकाँश वार्डमा सुविधा सम्पन्न भवन बनेर त्यहिबाट काम शुरु भएको र यो साढे ४ बर्षको अवधिको यो एउटा उपलब्धि पनि हो, ओलीले भन्नुभयो । वार्ड कार्यालय भवन निर्माण र अति आवश्यकी आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण आफुहरुको प्राथमिकता रहेकाले यो सफलता मिलेको पनि उहाँको भनाई थियो ।
वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाका अनुसार सायद यो सुविधा भएको वार्ड कार्यालय नेपालमा नै विरलैमात्र भएको हुनसक्ने बताउनु भयो । दमक नगरपालिका र जिल्ला समन्वय समिति झापाको ३ करोड ७१ लाखको लगानीमा सुविधा सम्पन्न भवन निर्माण पुरा भएर उद्घाटन भएको उहाँले जनाउनु भयो । लिफ्ट र अण्डरग्राउण्ड पार्किङ सुविधा सहितको वार्ड कार्यालय सायदै कमै मात्र होला, उहाँले भन्नुभयो ।

