दमकका अस्पतालहरुको हविगत ! २४ सै घण्टा भिडियो एक्स रे सुविधा समेत छैन
मैले जे देखेँ त्यहि लेखे
बिष्णुप्रसाद पोखरेल
दमक/ झापाको सरकारी दमक अस्पतालमा उपचारका लागि कोहि गयो भने बिशेषज्ञ सुविधा सहित आवश्यक जाँच र परामर्शका लागि कम्तिमा पनि २ दिन लाग्ने अवस्था छ । यसको कारण हो नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत यो प्रथम बिन्दु अस्पताल हो । यस अस्पतालको रेफर नभइ इमरजेन्सिमा बाहेक अन्यत्र अस्पतालमा उपचार पाईन्न । नीजि अस्पतालका मनोमानी र अनाआवश्यक रुपमा बिमकको बिमा कार्डबाट बिमा दाबी भुक्तानी गरेका बिषयहरु समेत बाहिर आएपछि यसमा कडाई भएको छ । स्वास्थ्य चौकीबाट अस्पतालको रुपमा स्तर उन्नतीे भएको दमक अस्पताललाई विरामीको चाप थेग्न निक्कै मुश्किल छ । दैनिक ८ सयदेखि १ हजार बिरामीहरु ओपीडिका लागि टिकट काट्ने गर्छन् ।
दमकमा दूईसाताको अवधिमा दूईवटा नीजि तवरबाट सञ्चालित अस्पताल (निम्स र एडभान्स ) ले सिटी स्क्यान सेवा शुरु गरेकाछन् । सिटी स्क्यानको सुविधा दमकमा नभएकाले विराटनगर, धरान वा बिर्तामोडमा यहाँका विरामीहरु जानु पर्ने अवस्था रहेको थियो । यो सेवा शुरु हुनु राम्रो कुरा हो । नीजि अस्पतालहरुलाई बारम्बार लाग्दै गरेको आरोप के छ भने अनाआवश्यक रुपमा ल्याव परिक्षण तथा बिभिन्न जाँचहरु गराउछन् । सिटी स्क्यान सेवा महगो भएकाले भोलि विरामीहरुलाई आर्थिक भार पर्ने गरी अनाआवश्यक जाँच गराउन बाध्य तुल्याईयो भने यो सेवाको नाममा ठगी हुनेछ । यसमा सचेत बन्नु आवश्यक छ ।
दमकमा एम.आर.आई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ्ग) को सुविधा छैन । यसका लागि आवश्यक उपकरण महगो छ । यो त टाढैको बिषय भयो । दमकमा आधा दर्जनभन्दा बढि अस्पतालहरुले २४ सै घण्टा स्वास्थ्य सुविधा दिने बताउदै आएकाछन् । दमक अस्पताल (दमक नगरपालिकाको स्वामित्वमा रहेको), सामुदायिक अस्पतालको रुपमा विकास गरिदै लगिएको आम्दा अस्पताल, नीजि क्षेत्रबाट सञ्चालीत दमकको ठुलो लाईफलाइन अस्पताल, अन्य अस्पतालहरु एडभान्स, निम्स, ओम मेची, नीजि दमक हस्पिटल लगायत कहि पनि चौबीसै घण्टा भिडियो एक्स रे सुविधा छैन । २४ सै घण्टा विशेषज्ञले भिडियो एक्स रे गर्ने ब्यवस्था रहेको छैन । अफिस टाइम ( १० देखि ५ बजे) सम्म समेत निरन्तर समेत यो सेवा पाउन मुश्किल छ । हाम्रो दमकमा यस्तो छ स्वास्थ्य क्षेत्रको हवितग । ईमरजेन्सि सेवा शुरु गरेपछि र २४ नै घण्टा अस्पताल खुलेपछि यो सुविधा दिन जरुरी छैन र ? यो बिषयमा गम्भिर बन्नु पर्ने देखिन्छ ।
भिडियो एक्स-रे एउटा मेडिकल टेस्ट हो, जसले उच्च फ्रेक्वेन्सी को ध्वनि प्रयोग गरेर शारीर भित्रको अंगको प्रत्यक्ष तस्बिर निकाल्छ। यसले कुनै हानिकारक विकिरण निकल्दैन, त्यही भएर यो एकदमै सुरक्षित पनि छ। भिडियो एक्स रे को सेवा त्यति धेरै खर्चिलो नभएपनि विशेषज्ञ राख्न अस्पतालहरुले किन जरुर नठानेको होला ? एउटै विशेषज्ञ धेरै अस्पताल र क्लिनिक जाने गरेकाले पनि अस्पतालहरुले विशेषज्ञ राख्न नसकेको पनि बताईने गरेको छ । यसो भनेर जिम्मेवारीबाट पन्छन पक्कै नमिल्ला । यसर्थ यस बिषयमा यहाँ अस्पताल तथा अस्पताल सञ्चालक, स्थानीय सरकार र सरोकारवाला निकायहरुको यस बिषयमा ध्यान जान जरुर छ ।
अस्पतालहरु सेवामैत्री नभएर ब्यापारमुखि भएको आरोप लाग्ने गर्छ । यसर्थ सेवामुखि बन्नका लागि अति आवश्यकीय सेवाहरुलाई सर्वसुलभ र सहज बनाउन आवश्यक छ । नाफाघाटा नहेरी अतिआवश्यकीय सेवालाई जतिखेर पनि उपलब्ध गराउने अवस्था सिर्जना गर्ने तर्फ लाग्नु पर्छ । पक्कै पनि नीजि अस्पतालका पनि समस्याहरु पक्कै रहेकाछन् । अप्ठेरो अवस्थामा नै चल्नु परेको हुनसक्छ । बिभिन्न घटनामा अस्पताल तोडफोडदेखि हुलहुज्जत भएकाछन् । अस्पतालमा विरामी मर्दा आर्थिक लेनदेन भएका घटना पनि सार्वजनिक भएकाछन् । अप्ठेराहरुलाई सामुहिक प्रयत्न र स्थानीय सरकारको सहयोगमा सहजीकरण गर्दै कमसेकम अतिआवश्यकीय स्वास्थ्य सेवाहरुलाई चुस्तदुरुस्त बनाएर दमकलाई स्वास्थ्यकको हव बनाउनका लागि लाग्नु पर्ने देखिन्छ ।

