दमक गोल्डकपको तयारी पुरा, खेलमैदानसम्म निशुल्क बस सेवा
दमक/ झापाको दमकमा बुधबारदेखि शुरु हुने दमक गोल्डकपको तयारी पुरा भएको आयोजकले जनाएको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा चार विदेशी टोलीसहित दश टिमको सहभागिता रहनेछ । दमक नगर खेलकुद समितिका अध्यक्ष भीमराज चम्लागाईका अनुसार सम्पूर्ण तयारी पुरा भएको छ ।
प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङमस्र्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जेलिङ, दुर्गापुर सन्डे क्लब कोलाकाता र एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए । बुधबारबाट हुने प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ । बुधबारको उद्घाटन खेलमा आयोजक दमक–११ र बागमती युवा क्लब सर्लाहीबीच खेल हुनेछ ।
दैनिक पाँच हजारदेखि सात हजार दर्शक अँट्ने प्याराफिट निर्माण गरिएको छ । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने पनि अध्यक्ष चम्लागाईंले जानकारी दिए । फुटवलप्रेमीहरुलाई लक्षित गरेर आयोजकले बिभिन्न ठाँउहरुबाट खेलकुद मैदानसम्म पुग्नका लागि निशुल्कको बसको समेत ब्यवस्था गरेको छ ।

