२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

बिष्णुप्रसाद पोखरेल

दमक/ स्थानीय तहको निर्वाचन नजिकिएसंगै यहाँका राजनीतिक दलहरुलाई उम्मेद्वार छनोटमा सकस शुरु भएको छ । आंकाक्षीहरुको लर्को भएपछि राजनीतिक दलहरुलाई उम्मेद्वार छान्नका लागि सकस शुरु भएको छ । विशेष गरेर प्रमुख, उपप्रमुख र वडाध्यक्ष छान्नका लागि सकस शुरु भएको हो ।

नेकपा एमालेका एक नेताका अनुसार वडाध्यक्षभन्दा माथिका लागि दमकमा मात्र १ सयभन्दा बढि आंकाक्षी देखिएकाछन् । १२ जना पदाधिकारी अर्थात प्रमुख, उपप्रमुख र वडाध्यक्षमा दाबी गर्नेको लर्को शुरु भएको छ । उनिहरु शक्तिकेन्द्रको पछि समेत लागेकाछन् । चिनजानको नेता मार्फत उम्मेद्वारीलाई मजबुद बनाउन खोजिरहेकाछन् ।

एमाले बाहेकका राजनीतिक दलहरु गठबन्धन भएर जाने भएकाले झनै धेरै आंकाक्षी देखिएको बताईन्छ । सबै राजनीतिक दलहरुले आफ्नो हैसियत र नेताहरुको बरिष्ठताको आधारमा पदाधिकारी दाबी गरिरेको गठबन्धनको छलफलमा सहभागि एक नेताले जनाए ।

गठबन्धनमा प्रमुख भन्दा बढि उपप्रमुखमा दाबेदारी बढिको रहेको देखिन्छ । सबै गठबन्धनका राजनीतिक दलहरुले प्रमुख नपाएमा उपप्रमुख दाबी गर्दै आएकाछन् । माथिल्लो तहमा दाबी गर्दै कम्तिमा १ देखि २ जना सम्म वडाध्यक्ष पाइन्छ भन्ने मानसिकताले पनि उम्मेद्वारी दाबी गर्ने क्रम बढेको छ , गठबन्धनका ति नेता भन्छन् ।

गठबन्धभित्र जसरी पनि नेकपा एमालेको पकडलाई ध्वस्त बनाउने हिसावले उम्मेद्वारी चयन र रणनीति आवश्यक रहेकोमा हामीबीच दूई मत छैन, गठबन्धनको छलफलमा सहभागि एक माओबादी केन्द्रका नेताले भने ।

स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति स्थानीय तहका जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ। उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्छ र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ।

ऐन अनुसार सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएको व्यक्तिहरू स्थानीय तहमा उम्मेदवार हुन पाउँदैनन्।