२०८३ असार १०, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

मैले जे देखेँ त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक शुक्रबार एकदिन बन्द हुने गरेको छ । दमक उद्योग बाणिज्य संघको आग्रहमा ब्यवसायीहरुले बन्द गर्दै आएकाछन् । संघको निर्णय मान्ने ल मान्छन् तर नमान्नेले भने ब्यवसाय सञ्चालन पनि गर्दै आएकाछन् । नियम मान्नेहरु अन्यायमा पर्छन र नमान्नेहरुलाई यसको कुनै प्रभाव नै पर्दैन ।

बारम्बार यो बन्दको बिषयमा संघको साधरणसभामा पनि आवाज उठ्दै आएको छ । कहिले शुक्रबारको विकल्पमा शनिवार बन्द गर्नु पर्ने त कहिले यो बन्दको खास अर्थ नरहेको भन्दै बन्द गर्न नहुने पनि माग उठ्ने गरेको छ । तर यो बिषयमा गम्भिर बहस र छलफल भएको देखिदैन । बिर्तामोडमा हप्तामा एकदिन बन्द गरिने कार्य र रात्रीकालिन ब्यवसाय सञ्चालनको बिषयमा औपचारिक बहस शुरु भएको छ । अब दमकमा पनि यो बहस गरिनु जरुरी छ ।

शुक्रबार दमक बजार बन्द हुन्छ । शनिवार र आईतवार दूई दिन सरकारको सार्वजनिक विदा हुन्छ । यस्तो अवस्थामा ब्यवसायीहरुलाई ३ दिनसम्म लगातर मार पर्ने देखिन्छ । किनकी सार्वजनिक बिदामा बैंक लगायतका सरकारी काम कारवाहीहरु पुर्ण रुपमा बन्द रहन्छन् । अब सातै दिन बजार खुला र भरपर्दो सुरक्षा ब्यवस्थापन सहित कम्तिमा रातको १० बजेसम्म बजार खुला राख्न दमकमा किन नसकिएला ? यसमा ध्यान जान आवश्यक छ ।

करिब ४ बर्ष अघि दमकको नमुना बजार सहितको पार्क उद्घाटनको क्रममा घोषणा भए अनुसार कम्तिमा पनि १० बजेसम्म बजार खुला गर्ने वातवरण तयार पार्ने सबै सरोकारवाला निकायहरुको प्रतिबद्धता रहेको थियो । त्यहाँ नीजि स्तरबाट सुरक्षा गार्डहरु समेत ब्यवस्थापन गरेर बजार खुला गर्ने प्रयास भएको थियो तर यो लामो समयसम्म टिकेन । आखिर दमकको नमुना बजार र मुख्य बजार क्षेत्र राती अबेरसम्म खुला गर्ने निर्णय कार्यन्वयनमा नै आउन सकेन ।

दमक नगरपालिकाको एक टोलीले भारतको सिक्किममा रहेको ‘एमजि रोड’को अवलोकन गरेर आएर दमकमा पनि यसै प्रकारको पर्यटकीय सडक बनाउने उदेश्य अनुरुप दमकको मुख्य बजारको सडकलाइ नमूना पर्यटकीय सडक बनाएर रात्रीकालिन बजार प्रवद्र्धनका लागि प्रयास गरेको देखिन्छ । यसको कार्यन्वयन भने हुन नसक्नु विडम्बना हो ।

रात्रीकालिन ब्यवसायका लागि सबैभन्दा ठुलो चुनौती सुरक्षा नै हो । सुरक्षाको ग्यारेन्टि राज्यको जिम्मा हो । यसले गर्दा सुरक्षाका लागि आवश्यक वातवरण बनाउन पहल गर्ने दायित्व स्थानीय सरकार, स्थानीय दमक उद्योग बाणिज्य संघ लगायतका सरोकारवाला निकायहरुको हो । यस बिषयमा कदम चाल्नका लागि ब्यवसायीहरुको माग रहेको देखिन्छ ।