दमकको आम्दा अस्पताललाई स्वास्थ्य बिमाको प्रथम बिन्दु बनाउन माग
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमक र आसपासका बासिन्दाहरुले नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमबाट स्वास्थ्य सेवा लिनका लागि धेरै नै सास्ति खेप्दै आउनु परेको छ । सरकारले सरकारी तथा सामुदायिक अस्पतालबाट मात्र सेवा लिने ब्यवस्था कारण यो समस्या भएको हो ।
स्वास्थ्य चौकीबाट स्तरउन्नती भएर अस्पतालको रुपमा परिणत भएको दमक नगरपालिका मातहतको सरकारी दमक अस्पतालमा एउटा विरामीले सामान्य स्वास्थ्य लिन कम्तिमा पनि २ दिन लाग्दछ । घण्टौ बसेर पुर्जि लिनु पर्ने र त्यसरी नै लाईन बसेर जाँच गराउनु पर्ने अवस्था छ । जाँच गराएर ल्याव रिर्पोट लिई फेरी विशेषज्ञलाई देखाउनु पर्यो भने पुरै २ दिन कम्तिमा पनि लाग्ने गरेको छ । विरामी भएर उपचारमा आएको सेवाग्राही झन् विरामी पर्ने अवस्था रहेको बताईन्छ ।
आम्दा अस्पताल र स्थानीय राजनीतिक दलका प्रतिनिधि मण्डलले यस बिषयमा स्वास्थ्य मन्त्री विरोध खतिवडालाई भेटेर आम्दा अस्पताललाई पनि प्रथम बिन्दु बनाउन माग गरेको छ । पहिला आम्दा अस्पताल पनि प्रथम बिन्दु रहेको थियो । बिचमा प्रथम बिन्दुबाट आम्दा अस्पताल हटाईएको छ । सांसद महेन्द्रकुमारी सुब्बा, माओबादी केन्द्रका नेता सुरेन्द्र बस्नेत, शंकर बस्नेत, नेकपा एसका दमक नगर अध्यक्ष महेश घिमिरे लगायतको टोलीले मन्त्री खतिवडालाई भेटेको हो ।
आम्दा अस्पतालका समस्या र कोभिडको समयमा स्वास्थ्यकर्मीले गरेको कामको पारिश्रमिक लगायतका बिषयमा पनि छलफल भएको जनाईएको छ । अस्पतालका मेसु डा.प्रकाश शर्मा, पुर्व मेसु डा. नविन ढकाल, प्रशासक सुमन नेपाल लगायतले आम्दाका समस्याहरुको बिषयमा मन्त्रीको ध्यानकर्षण गराएको जनाईएको छ ।
मन्त्री खतिवडाले समस्याहरुको बिषयलाई गम्भिर रुपमा लिँदै समस्या सामधान गर्नका लागि पहल गर्ने जनाएको बताईएको छ । आम्दा अस्पताल प्रथम बिन्दु भएको अवस्थामा अहिले दमक अस्पतालमा भइरहेको चाप कम्तिमा पनि आधा घटने जनाईन्छ ।


