आम्दाको प्रथम सेवा विन्दु काटियो, दमक अस्पतालमा विरामीको बेहाल
विष्णुप्रसाद पोखरेल
दमक/ नेपाल सरकारले नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउनका लागि भनेर ल्याएको ‘स्वास्थ्य बीमा कार्यक्रम’ले दमकमा भने हैरानी शुरु भएको छ । यसभन्दा अघि आम्दा लगायतका नीजि अस्पतालमा समेत ईमरजेन्सिमा सहज रुपमा उपचार हुँदै आएकोमा अहिले भने यसमा कडाई भएको छ ।
आम्दा अस्पताल यसभन्दा अघि प्रथम विन्दु रहेकोमा अब यो पनि काटिएको छ । यसले अब दमक र आसपासका विरामीका लागि प्रथम बिन्दु केहि बर्ष अघि स्वास्थ्य चौकीबाट अस्पतालमा स्तरउन्नती भएको दमक अस्पतालमात्र प्रथम विन्दु भएको छ । एउटा विरामीले जाँच गराउनका लागि विहान ६ बजे लाइन बस्दा मुश्किलले जाँच गराउछ । ल्याव परिक्षण गराउन अर्को दिन लाग्छ । त्यो रिर्पोट देखाउन फेरी दिनभर कुर्नुपर्छ र रिर्पोट देखाउन फेरी अर्को दिन । फार्मेसी लाइन लाग्न पनि फेरी घण्टौ । विरामी थप विरामी हुने अवस्था छ ।
यस्तो अवस्था रहदा रहदै पनि आम्दालाई प्रथम विन्दु कटाएपछि अब झनै मुश्किल हुने देखिएको छ । अहिलेको अवस्थामा नयाँ भवन पुर्ण रुपमा सञ्चालनमा नआएका कारण विरामीहरुको बेहाल देखिन्छ । यस्तो अवस्थामा स्वास्थ्य बिमाप्रति नै वितृष्णा हुने अवस्था रहेको छ । यसभन्दा अघि दमक नगरपालिकाले स्वास्थ्य बिमालाई ब्यवस्थापन गर्न नसकेको भन्ने आरोप लाग्दै आएको थियो । निर्वाचनको समयमा यो मुद्धा पनि प्रमुखताका साथ उठेको थियो ।
दमक आम्दा अस्पतालमा बिमा सेवा बन्द भन्ने कुरा आयो, यो नितान्त गलत छ र यसमा सरोकारवालाको ध्यान जाओस, दमकका तीर्थ पापैड्याल भन्छन् । उनि भन्छन्, हामीले के को लागी बीमा रकम तिर्ने ? सर्वसाधरणहरुले यसमा आक्रोश पोख्दै आएकाछन् । विरामी तथा स्वास्थ्य बिमा गरेकाहरुको गुनासो र पीडा सुन्ने कोहि पनि देखिदैन, अर्का सेवाग्राहि अरुण निरौलाले भने । विरामी लाईन बस्न नसकेर बेहोस हुने अवस्था रहदा पनि यहाँ सुनुवाई हुदैन रहेछ, उनले भने ।
दमक अस्पतालकी सूचना अधिकारी देबी दंगालका अनुसार अस्पतालमा दैनिक १ हजार जनाले सम्मले सेवा लिने गरेकाछन् । दमकमात्र नभएर यहाँ दमक र आसपासका पालिकाहरुबाट समेत विरामीहरुको धेरै नै चाप रहेको छ ।

