अति विपन्न मजदुर महिलालाई तीज उपहार कार्यक्रम
दमक । झापाको दमकमा महिलाहरुमात्र सदस्य रहेको लायन्स क्लवहरुले अति विपन्न १० घर परिवारका महिलाहरु सहित सामुहिक तीज कार्यक्रम मनाएको छ । आर्थिक अभावले घरमा तीज मनाउन नसक्ने परिवारहरुको पहिचान गरेर उनिहरुलाई पनि तीज कार्यक्रममा सहभागि गराईएको लायन्स क्लव अफ दमक सेविकाकी अध्यक्ष कमला घिमिरेले बताउनु भयो ।
गत बर्षदेखि नै यो कार्यक्रमलाई अभियानको रुपमा शुरु गरिएको र यसलाई यो बर्षपनि निरन्तरता दिईएको घिमिरेले जनाउनु भयो । हामीले आफ्नो आम्दानीको केहि खर्च बचाएर कम आयश्रोत भएका तथा अति विपन्नको घरमा पनि तीज आउनसकोस भनेर कार्यक्रम तय गरेका हौ, घिमिरेले भन्नुभयो ।
मजदुर महिलाहरुलाई तिज उपहार कार्यक्रमको रुपमा यसलाई निरन्तरता दिईएको लायन्स क्लव अफ ३२५ सिका जोन चियर पर्सन ज्ञानु शर्माले जानकारी दिनु भयो । दमक ८ स्थित केबिआर होटलमा भएको कार्यक्रममा सहभागि रहेका १० महिलाहरुलाई क्लवहरुको तर्फबाट तीजका लागि नयाँ लत्ताकपडा प्रदान गरिएको थियो । सारि, पोते, चुरा, टिका लगायतका सामाग्रिहरु मजदुर महिलाहरुलाई प्रदान गरिएको हो ।
कार्यक्रममा सहभागि दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले सामाजिक संघसंस्थाहरुले यस प्रकारको कार्यक्रम गर्दा अति विपन्नहरु पनि चाडपर्वमा रमाउन सक्ने अवस्था बन्ने बताउनु भयो । नगरपालिकाले पनि अति विपन्नका लागि खाद्यन्न लगायतका अतिआवश्यकीय सामाग्रिहरु यसै आर्थिक बर्षबाट बितरण शुरु गर्ने नीति लिएको पनि उहाँले जनाउनु भयो ।
कार्यक्रममा लायन्स लिडर अजय अग्रवाल लगायतको पनि उपस्थिति रहेको थियो ।

