२०८३ असार १०, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखेँ

विष्णुप्रसाद पोखरेल

देशमा शैक्षिक परामर्श सेवा (कन्सलटेन्सी) को नाममा ठगी धन्दा चलिरहेको छ । जसका कारण अभिभावक र विद्यार्थी ठगिने क्रम दिन प्रतिदिन बढ्दै गएको छ । कन्सलटेनसीमार्फत उच्च शिक्षा अध्ययन गरी सुनौलो भविष्य कोर्ने सपना देखेकाहरुबाट गलत फाइदा लिने र उनिहरुको नागरिकता देखि लिएर ब्याक्तिगत विवरणसम्मको दुरुपयोग भएको पाईएको छ । यो गम्भिर प्रकारको अपराध र छिटो पैसा कमाउने माध्यम हुन थालेको देखिएको छ ।

दमक सहित झापा तथा देशभर नै स्थानीय सरकार तथा सरकारी निकायले प्रभावकारी अनुगमन नगर्दा अधिकांश शैक्षिक कन्सलटेन्सी लगामबिनाका घोडा जस्तै भएकाछन् । स्थानीय स्तरमा कुनै न कुनै रुपमा राजनीतिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा लागेहरुले यसको संरक्षण र संलग्नता देखाएर अदृश्य रुपमा ठगी धन्दा चलाउदै आएकाछन् । नक्कली शैक्षिक प्रमाण पत्र, सिफारीसहरु बनाउने कार्य कन्सल्टेन्सिबाट हुने गरेको पाईन्छ । त्यहाँ जम्मा गरिएको नागरिकता र फोटो समेत दुरुपयोग भएको ठुलो घटना दमकमा सार्वजनिक हुनुले कहाँसम्मको हर्कत कन्सल्टेन्सीबाट हुन्छ भन्ने प्रमाण भेटिएको छ ।

दमकमा शैक्षिक कन्सल्टेन्सीको एउटा ठुलो अपराध सार्वजनिक भएको छ । पद्मा कन्सल्टेन्सीले बिद्यार्थीहरुबाट नागरिकता तथा ब्याक्तिगत विवरण लिएर त्यसको दुरुपयोग गरेको सार्वजनिक भएको हो । विद्यार्थीको नागरिकता प्रयोग गरेर ३ सय ४४ भन्दा बढि एनसेलको सिम लिएर त्यति नै संख्यामा इ–सेवा आईडि खोलेर अबैध रुपमा आर्थिक कारोबार गरेको खुलेको छ । शैक्षिक योग्यताको प्रमाणपत्र समेत नक्कली बनाउने गरेको भेटिएको छ । यो अति गम्भिर बिषय हो । कन्सल्टेन्सीहरुले कति सम्म गर्दा रहेछन् भन्ने यो एउटा उदाहरण हो ।

ईलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख दिलिप गिरीका अनुसार कन्सेल्टेन्सीले बिद्यार्थीबाट नागरिकता, फोटो र आवश्यक बिभिन्न कागजपत्र मागेर त्यसको दुरुपयोग गर्ने तथा अनाधिकृत प्रयोग गर्ने गरेको खुलेको छ । आफ्नो कागजपत्र एवं नागरिकता र फोटो प्रयोग गरेर नागरिकता लिएको बिषयमा, आर्थिक कारोबार गरेको बिषयमा बिद्यार्थीहरु जानकार छैनन् । नेपालको कानूनले निषेध गरेको सट्टेबाजी (बेटिङ) कम्पनी ‘वान् एक्स बेट’ मा प्रयोग गर्नका लागि अनाधिकृत रुपमा ई-सेवा आईडि प्रयोग भएको छ ।

दमकमा दर्जनौ कन्सल्टेन्सीहरु सञ्चालनमा रहेकाछन् । के यिनिहरु स्थानीय सरकारमा दर्ता रहेकाछन् ? यिनिहरुले अर्धबार्षिक वा बार्षिक रुपमा विवरणहरु पठाएकाछन् ? छैनन् । उनिहरुले कहाँ र कुन देश जाँदा कति सम्म सेवा शुल्क वा अन्य शुल्क लिने भनेर सार्वजनिक सूचना या सबैले देख्ने गरी र बुझ्ने गरी सूचित गरेकाछन् ? यो गरेको देखिदैन । मनपरी शुल्क उठाउने काम गर्दै आएकाछन् । तर बिडम्बना स्थानीय सरकार बेखबर झै रहेको छ ।

कुनै पनि मूलक पढ्न जाने बिद्यार्थीहरुका लागि स्पष्ट रुपमा यति नै पैसा लाग्छ नभन्ने र बिभिन्न शिर्षकमा पैसा लिँदा त्यसको भर्पाइ तथा विल समेत बिद्यार्थी तथा अभिभावकले पाउदैनन् । त्यसको जानकारी समेत न कसैले लिएको हुन्छ न त कसैलाई दिईएको नै हुन्छ । पछिल्लो समयमा त बैंकमा समेत शैक्षिक ॠण मिलाईदिने भनेर निश्चित रुपमा त्यहिबाट समेत कमिसन खाने गरेको गुनासो समेत सुनिन थालेको छ । तर विदेश जाने आफ्नो ईच्छा पुरा नहुने र भोली अहिलेसम्म खर्च नउठ्ने डरले यो बिषय बाहिर आएको छैन ।