२०८० चैत्र १६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकको एकमात्र स्वास्थ्य बिमाको प्रथम विन्दु अस्पतालको रुपमा रहेको सरकारी दमक अस्पतालमा सामान्य औषधि समेत विरामीले नपाउने अवस्था रहेको पाईएको छ । बारम्बार ल्यावका मेशिन तथा औजारहरु बिग्रदा ल्याव परिक्षणमा समेत समस्या हुँदै आएको भेटिएको छ ।

पहिलो विन्दु अस्पताल यहि सरकारी दमक अस्पताल भएकाले यहि जानु पर्ने बाध्यता रहेको छ तर जहाँ सामान्यभन्दा सामान्य औषधि समेत नपाईएपछि विरामीहरु पीडित बनेकाछन् । घण्टौ लाइन बसेर बिरामी झन् थप बिरामी हुने अवस्था आउने यस अस्पतालमा ग्याष्ट्रिक, प्रेशर लगायतका विरामीले नियमित सेवन गर्ने औषधि समेत नपाउनु बिडम्बना छ । अस्पताल विकास समितिको अध्यक्ष बन्न हानथाप हुँदा समिति समेत बन्न सकेको छैन ।

अस्पताल घाटामा पनि छैन । औषधि किन्नका लागि र यहाँ चाहिने आवश्यक सामाग्रि किन्नका लागि अस्पतालको कोषमा पर्याप्त रकम भएपनि स्थानीय तह दमक नगरपालिका मातहत रहेको यस अस्पताल सञ्चालनका लागि विकास समिति समेत बन्न सकेको छैन । कार्यापालिका वैठकमा समिति बनाउने बिषयमा अहिलेसम्म प्रस्ताव नगएको बताईएको छ ।

आन्तरिक समस्या, नगरपालिकाको अनाआवश्यक हस्तक्षेप, अस्पतालका कर्मचारीहरुप्रति नगर प्रशासनको अविश्वास लगायतका कारणले गर्दा सरकारी दमक अस्पताल आफै विरामी हुने अवस्थामा पुग्न लागेको त्यहाँ गएर बुझ्दा महसुस हुनेगर्छ । विरामीहरुलाई कसरी राम्रो सेवा दिन सकिन्छ भन्ने भन्दा पनि आफु अनुकुल कसरी अस्पताल चलाउने भन्ने सोचका कारणले गर्दा समस्या यहाँ निम्तिएको देख्न सकिन्छ ।

केहि समय अघि अस्पतालमा राम्राराम्रा विषयबिज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आएर यहाँ सेवा दिन शुरु गरेपनि अहिले आएर चिकित्सकहरु फिर्ता जान थालेको पाईएको छ । आन्तरिक किचलो र नगरपालिकाको रबैयाप्रति उनिहरुले असन्तुष्ट बनेको बताइन्छ । विरामीहरुको चाप ब्यवस्थापन सहित उपचारमा सहजता ल्याउनका लागि कहिकतैबाट कसरत नभएको पाएपछि उनिहरु वाक्क बनेर फिर्ता जान थालेको भेटिएको छ ।

अस्पतालको अस्तब्यस्तता र औषधि अभाव, ल्यावमा समस्या लगायतका गुनासोहरु आएपछि दमक अस्पताल पुग्दा त्यहाँ दमक नगरपालिकाले अस्पताल हेर्नका लागि अस्पतालमा नै एक अधिकृतलाई पनि खटाएको देखिएको छ । अस्प्ताल हेर्नका लागि अधिकृत जिवराज भट्ट्राईलाई खटाईएको रहेछ । भट्टराईले अस्पतालमा समस्याहरु रहेको स्वीकार गर्दै सुधारको प्रयास भइरहेको बताउनु भयो ।

बिभिन्न कानूनी अड्चन र प्रक्रियागत कामका कारण औषधि खरिदमा समस्या तथा ढिलासुस्ति भएको उहाँको भनाई थियो । औषधि नपाएको गुनासो सहि हो र चाँडो औषधि ब्यवस्थापनमा लागि रहेका छौ, उहाँले भन्नुभयो । अस्पतालमा सेवा सहज नपाउदा बिरामीहरुको छटपटी, औषधि नपाउदाको आक्रोश, घण्टौ लाइनबस्दाको पीडा अति नै दर्दानक खालको थियो ।

सरकारी दमक अस्पताल अस्तब्यस्त बन्नुमा दमक नगरपालिकाले जिम्मेवारी वहन गर्नु पर्दछ । किनकी दमक नगरपालिकाको मातहतको यो अस्पताल हो । यदि स्थानीय सरकारले अस्पताल सञ्चालन गर्न नसक्ने अवस्था हो भने प्रदेश सरकार मातहत अस्पताललाई लैजान आवश्यक छ । अस्पताल विकास समिति चाँडो बनाउनु पर्यो । समितिले अधिकार दिएर अस्पताललाई चुस्त, दुरुस्त र विरामीमैत्री बनाउनु पर्यो । सहज रुपमा सेवा सुविधा विरामीले पाउनु पर्यो । औषधि अभावको अवस्था आउनु भएन ।

निर्वाचनको समयमा दमक अस्पतालको सेवाको बिषयमा खुव चर्चा भयो । सबै राजनीतिक दलहरुले अस्पतालको सेवालाई प्रभावकारी बनाउने र अहिलेको अवस्थाको अन्त्य गर्ने बताएको ताजै छ । खोइ त के भयो ? अस्पताल विकास समिति समेत बन्न सकेको छैन । विरामीहरुले झन् सास्ति पाईरहेकाछन् । यस बिषयमा स्थानीय सरकार लगायत सबै सरोकारवाला निकायहरुको ध्यान जाओस् ।