२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ राष्ट्रिय विभूती फाल्गुनन्दको नाममा शिलन्यास भएको दमकको सभागृहको नाम दमक सभागृह बनाईएको भन्दै सच्याउन माग गरिएको छ । नामको बिषयमा पछिल्लो समयमा विवाद सिर्जना हुन थालेको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम टोलीले दमक नगरपालिकाका प्रमुख रामकुमार थापालाई ज्ञापन पत्र बुझाउँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको नाममा शिल्यान्यास गरिएको सभागृहको नाम परिवर्तन भएको भन्दै यसलाई परिवर्तन नगर्न माग गरेकाछन् ।

दमक नगर पालिकाको वडा नं.९ मा ३२ करोड लगानीमा भवन निर्माण अन्तिम चरणमा पुगेको छ । भवन निर्माण गर्ने शहरी विकास मन्त्रालयले दमक सभागृहको नाममा बजेट विनियोजन भएर काम सकिन लागेकाले नाम परिवर्तन अहिले गर्न नसकिने ब्यवहोराको पत्र दमक नगरपालिकालाई पठाएपछि यहि अनुसारको निर्णय दमक नगरपालिकाको कार्यपालिका वैठकले गरेको बताइन्छ ।

अहिले गठबन्धनको सरकार रहेको छ उक्त मन्त्रालय गठबन्धनकै नेतृत्वमा रहेको छ । गठबन्धनका दलहरुले यसलाई आफै राजनीतिक मुद्धा बनाउन खोजिरहेकाछन् ।

गठबन्धनले सरकारको नेतृत्व गरेको डेढ बर्षसम्म चुप बसेका उनिहरु अहिले चुनावी मुद्धा यसलाई कसरी बनाउने भन्नेमा रहेको बताईन्छ । एमालेलाई आरोप लगाएर कसरी आफुहरुले यसलाई चुनावी मुद्धा बनाउने भन्नेमा हामीबीच छलफल भइरहेको छ, गठबन्धनका एक नेताले भने ।

हामीलाई आदिबासी रंगशाला जस्तो यो पनि एउटा चुनावी मसला बनेको छ, ति नेताले भने । गठबन्धन सरकारले आदिबासी रंगशालालाई केन्द्रिय नीति तथा कार्यक्रम र बजेटमा समावेश नै गरेको छैन । तर यो हामी बनाउछौ भनेर बारम्बार भन्दै आएका थिए ।