सरकारी दमक अस्पताल आफै विरामी झै पिरोलिएपछि अस्तब्यस्त स्वास्थ्य सेवा

मैले जे देखे त्यहि लेखेँ
विष्णुप्रसाद पोखरेल
दमक । स्थानीय सरकारको क्षेत्राधिकारभित्र बिद्यालय शिक्षा र आधारभुत स्वास्थ्य सेवा संवैधानिक ब्यवस्था छ । नगरलाई विकसित र सम्बृद्ध बनाउनका लागि शिक्षा, स्वास्थ्य क्षेत्रको विकास जरुरी रहेको छ । दमक नगरपालिका र आसपासका पालिकाहरुको समेत प्रमुख सरकारी उपचार केन्द्रको रुपमा रहेको दमक अस्पतालको कन्तबिजोग जो कोहिले देखेकाछन् ।
तर विडम्बना दमकमा अहिले शिक्षा र स्वास्थ्य क्षेत्रलाई ब्यवस्थित बनाउनका लागि बन्नै पनि दूई वटा समिति बनेको छैन । नगर शिक्षा समिति र दमक अस्पताल सञ्चालनका लागि बन्नु पर्ने समिति बन्न सकेको छैन । दमक अस्पतालको कन्तबिजोग छ । अझ एउटा विडम्बना दमक अस्पतालको खाता अहिले बन्द भएर नगरपालिकाले चलाएको छ । स्वायत्त रुपमा विकास गर्नु पर्ने अस्पतालको काम कार्वाही र आर्थिक गतिविधि एवं निर्णयको अवस्था दयनीय छ ।
दमक अस्पतालको सेवा प्रवाहमा बेथिति छ । जाँच र उपचारका लागि घण्टा होइन दूई/तीन दिन लाग्ने अवस्था छ । सहज रुपमा न रेफर हुनसक्छ न त उपचार नै हुनसक्छ । अब चाँडै सुधार गरिन्छ भनेको पनि महिनौ बितिसकेको छ । विरामी भएर उपचारका लागि गएको मान्छे थप विरामी हुने नियती दमक अस्पतालमा छ भन्दा फरक नपर्ने अवस्था छ । दमक अस्पताल आफै नै विरामीको अवस्था झै देखिन्छ । नयाँ भवनमा सेवा शुरु भएपछि सबै समस्या सामधान हुन्छ भन्ने एक प्रकारले भ्रम छरिएको छ । ब्यवस्थापकिय सुधारतर्फ ध्यान गएको पाइदैन जस्तो लाग्छ ।
अस्पतालमा यतिसम्म कमजोरी छ कि सोधपुछ काउण्टर तथा कक्ष बनाईएको छैन । केहि बिषयमा सोधपुछ गर्न कमसेकम सजिलो बन्थ्यो । प्राय अस्पतालहरुमा सोधपुछ कक्ष अनिवार्य हुनुपर्छ र दमक अस्पतालमा पनि बनाईनु पर्ने हो । अस्पतालको पुरानो शौचालय छेउमा दुर्गन्धित फोहोर र सिरिन्जले अस्पतालको सरसफाइप्रतिको अवस्था दर्शाउछ ।
अझ पछिल्लो समयमा बेथिति धेरै नै रहेको छ । स्वास्थ्य बिमाबाट उपचार लिन आएकाहरुको लाइन ब्यवस्थापन गर्न नसक्दा बिरक्तिएर कतिपयले त बिमाको नविकरण समेत नगरेको गुनासो गरिरहेको अवस्था भेटिएको छ । स्वास्थ्य क्षेत्रमा यो एउटा ठुलो समस्याको रुपमा दमकमा देखा परेको छ । स्वास्थ्य क्षेत्रमा यो एउटा ठुलो समस्याको रुपमा दमकमा देखा परेको छ । कतिपय अवस्थामा त बिमा मार्फत पाइने औषधि समेत बिरामीले पाउदैनन् ।
औषधि खरिद प्रक्रियाका कारण समेत यो समस्या भएको बताइने गरेको भेटिन्छ । दमकमा दमक नगरपालिकाले स्विकार गरेको सामुदायिक अस्पतालको रुपमा विकास गरिएको आम्दा अस्पतालमा बिरामीहरुलाई रेफर गरेर स्वास्थ्य सेवालाई सहज बनाउन तर्फ पनि ध्यान गएको पाइन्न । कमसेकम विरामीलाई सहज रुपमा विशेषज्ञ सेवा पाउने अवस्था सिर्जना गर्नका लागि रेफरको प्रणाली ब्यवस्थित बनाउदा पनि विरामीहरुलाई धेरै राहत मिल्ने छ ।
को अध्यक्ष बन्ने भन्ने बिबादले गर्दा अस्पताल विकास समिति नै नबनेको भन्ने सुनिन्छ । यो खेदजनक छ । अहिलेसम्म बसेको नगरको कार्यपालिका वैठकमा पनि अस्पताल विकास समिति निर्माणको बिषय प्रवेस नपाएको भन्ने बाहिर आएको छ । यसले पनि स्वास्थ्य सेवा प्रति नगरपालिका तथा नगर कार्यपालिका जिम्मेवार नदेखिएको भन्ने आधार भेटिन्छ । यस बिषयमा अब नागरिक स्तरबाट पनि आवाज उठ्न जरुरी रहेको छ । राजनीतिक दलहरुले लिखित र मौखिक रुपमा पनि यो बिषय उठान गरेपनि सुनुवाइ भएको देखिन्न ।
समग्रमा मेरो देखाइमा दमक नगरपालिकाको “दमक अस्पताल संचालन कार्यविधि,२०७८” अनुसार सेवाग्राहीले सेवा पाएका छैनन् । दमक नगर स्वास्थ्य नियमवलीको समेत अहिले परिपालन भएको देखिदैन । नियामवलीमा दमक अस्पताल विकास समितिको कोष रहने उल्लेख छ ।
उक्त नियमवलीमा उल्लेख भए अनुसार दमक अस्पताल व्यवस्थापन समितिको खाता संचालन दमक अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट र दमक नगर कार्यपालिका कार्यालयको लेखा शाखाका कर्मचारीको संयुक्त दस्तखतबाट सञ्चालन गरिने उल्लेख छ । अहिले ब्यवस्थापन समितिको खाता चलेको छैन ।