जे देखियो-करिब डेढ घण्टा अशान्त बनेको दमकको गणतन्त्र चोक
विष्णुप्रसाद पोखरेल
मैले जे देखे त्यहि लेखेँ
दमक/ कोशी प्रदेशको पुनः नामाकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंगलवार साँझ राँके जुलुस निकाल्ने क्रममा दमकको मुख्य गणतन्त्र चोक तनावग्रस्त तथा अशान्त बन्यो । राँके जुलुसले केहि बेर आकाशेपुल तथा मुख्य गोलो चोक राँकोमय बन्यो ।
आन्दोलनरत पक्षका केहि नेताहरुले दमकको गोर्खाली टोल अगाडिबाट गणतन्त्र चोकसम्म राँके जुलुस निकाल्ने र त्यसपछि निभाउने भन्दै शान्तिपुर्ण आन्दोलन हुने बताएका थिए । जब गणतन्त्र चोकमा राँके जुलुस पुग्यो प्रहरीले रोक्न खोज्दा झडप शुरु भयो । प्रहरीले राँको खोस्न थाल्यो । त्यसक्रममा प्रर्दशनकारीले राँको प्रहरीतर्फ फ्याक्न थालेपछि तनाव शुरु भयो । प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सि शुरु भयो ।
प्रहरीको हस्तक्षेपपछि आक्रोशित बनेका प्रर्दशनकारीले राँको, ढुंगा र ग्याटिस झिकेर प्रहरीतर्फ हान्न थालेपछि प्रहरीले अश्रू ग्यास हान्न थाल्यो । जसका कारण दमकको गणतनत्र चोक धुवामय बन्यो । एकातिर राँकोको लप्का र अर्कातिर अश्रु ग्याँस, ढुंगा प्रहारले एकछिन गणतन्त्र चोक युद्धस्थलजस्तै बन्यो ।
गणतन्त्र चोकमा रहेका प्रहरीहरुलाई प्रर्दशनकारीहरुले रक्षात्मक बन्न बाध्य बनाउदै बेलडाँगी रोडतर्फ जाने बनाए र गणतन्त्र चोकमा बाटोमा आगो सल्काएर विरोध गरे । एक समुह प्रहरीतर्फ नै लागेपछि पुन झडपको अवस्था आयो । गोलीजस्तै पड्केको आवाज आउन थाल्यो । ब्यापारीहरुले हतारहतार गर्दै पसल बन्द गर्न थाले ।
https://www.facebook.com/watch?v=1356655628237566
सर्वसधारणहरुको भागेरभाग मच्चियो । आफ्नो सुरमा हिडेकाहरु पनि अलमलमा परे । प्रदर्शनकारीहरुले सिटी र सवारी साधन पनि तोडफोड गरेपछि झनै अवस्था बिग्रीयो । दोहोरो झडपमा केहि आन्दोलनकारी र प्रहरी घाईते पनि भए । सडकमा केहि समय सवारी साधनहरु पनि रोकिए । प्रदर्शनकारीहरुले चर्को स्वरमा नाराबाजि गरिरहे ।
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिका शिर्ष नेताहरुले प्रदर्शनकारीलाई संयमित बन्न र राँको निभाउन भनेको पनि देखिन्थ्यो । आफ्नो निर्देशन नमानेपछि नेताहरु भने सडकको किनारमा बसेर घटना नियालिरहेका पनि देखिन्थे ।
प्रर्दशनकारी प्रहरीमाथि आइलागेको देखेर र प्रर्दशन हिंसात्मक होला भन्ने चिन्ता कतिपय नेताले ब्यक्त गरिरहेका थिए । उनिहरु एकआपसमा कुरा गर्दै घुसपैठ भएको हुनसक्ने भन्दै थिए । यसरी नै करिब डेढ घण्टा दमकको गणतन्त्र चोक अशान्त बन्यो ।
एक प्रर्दशनकारीका अगुवाले जब माइक ल्याएर सबैलाई पछि हटन र घरघर जान भन्न थाले त्यसछि केहि शान्त बन्न थाल्यो । घाईते प्रहरी र प्रदर्शनकारी अस्पतालमा रहेको थाहा पाएपछि अस्पतालतिर भिड लाग्न थाल्यो । त्यसपछि प्रहरी पुन गणतन्त्र चोकमा केन्द्रित भयो । आगोको लप्काहरु निभाउन थाल्यो ।
https://www.facebook.com/watch?v=1356655628237566

