२०८३ बैशाख ८, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमक नगरले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ८४ करोड १२ लाख ३९ हजारको बजेट नगर सभामा प्रस्तुत गरेको छ । केहि लोकप्रीय र आशलाग्दा कार्यक्रमहरु सहित आएको नीति तथा कार्यक्रम र बजेटको बिषयमा चर्चा शुरु भएको छ ।

आन्तरिक श्रोतबाट नगरले कृषि र पशुविकासका लागि अत्यन्त न्यून बजेट छुट्याएको छ । कृषि र पशु विकासका लागि ४१ लाख ५० हजार बजेट विनियोजन गरेको छ । दमकमा कृषिमा आधारित नगर हो । कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुले पुर्वधार विकासका लागि बजेटमा रस्साकस्सि गरे पनि कृषि र पशु विकासमा चासो नदिएको बताइन्छ । अघिल्लो बर्ष कृषि र पशु सेवा क्षेत्रमा नगरपालिकाले ६० लाख बजेट विनियोजन गरेको थियो ।

दमक नगरपालिकाले तयार पारेको नगर प्रोफाइलमा उल्लेख भए अनुसार नगरपालिकाका कुल २२,४४२ घरधुरीहरू मध्ये ४,९१२ अर्थात् २१.८९ प्रतिशत परिवारहरू कृषिमा आबद्ध रहेका छन् । खेती गर्दा टाट पल्टिने स्थितिले किसानलाई परम्परागत पेशाबाट पलायन बनाइरहेको मात्र छैन, ग्रामीण समाजको जीवन–आधारमै सङ्कट निम्त्याएको अवस्थामा नजिकको सरकार स्थानीय सरकारले कृषि क्षेत्रलाई उपेक्षा गरिनुले किसानहरुप्रति हेर्ने स्थानीय सरकारको दृष्टिकोण झल्कन्छ ।

नगरपालिकामा कृषि प्रयोजनको जमिन भएका वा कृषि प्रयोजनको जमिन भोगचलन गर्ने परिवारको संख्या ४६११ मध्ये सिँचाई सुविधा हुने परिवार संख्या ३,७१० र सिँचाई सुविधा नभएको जमिन हुने परिवार संख्या ७९२ रहेको छ । सबै कृषि प्रयोजनको जमिन हुने परिवारले कृषि कर्म गरेको छैनन् ।

कृषि प्रयोजनको जमिन नहुने परिवारले पनि अरुको जमिनमा खेति गर्ने गरेका छन्। नेपालको संविधानको धारा ४३ को उपधारा ४ मा “प्रत्येक किसानलाई कानून बमोजिम कृषि कार्यमा लागि भूमिमा पहुँच, परम्परागत रूपमा प्रयोग र अवलम्बन गरिएको स्थानीय बीउ विजन र कृषि प्रजातिको छनौट र संरक्षणको हक हुनेछ ।” भनि उल्लेख गरेको छ ।

दमक नगरपालिकाको पाश्र्वचित्र, २०७५ ले दमकमा कृषि ब्यवसायलाई ध्यान दिदै योजना बनाउन सुझाव दिएको भेटिन्छ । नगरपालिकालाई कृषि र खाद्यान्न उत्पादनमा सबल बनाउन सके आर्थिक क्षेत्रमा उल्लेख्य सुधार भई निर्यात प्रर्वद्धन गर्न सकिन्छ, त्यहाँ भनिएको छ ।

अर्कोतर्फ सिँचाई सुविधा नपुगेको कृषि योग्य जमिनमा सुविधा पु¥याउन पहल गर्नुपर्ने देखिन्छ, सुझाव दिईएको थियो । सिँचाई सुविधा पुग्न नसक्ने स्थानहरूमा डालेघाँस, फलफुल खेति वा कृषिका कम सिँचाई वा सिँचाई आवश्यक नपर्ने वैकल्पिक उत्पादन हुने विधिहरू अपनाई जमिनको सदुपयोग गर्न सकिन्छ, भनेर त्यहाँ सुझावमा दिएको पाइन्छ ।