भद्र र शालिन नेताको पर्याय रहेका सुवास नेम्बाङको देवसान
दमक/ सहमति, सहकार्य र एकताको वकालत गर्दै आएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले नेपालको राजनीतिक क्षेत्र स्तब्ध भएको छ।आइतबारसम्म राजनीतिक गतिविधिमै सक्रिय रहेका नेम्वाङको हृदयघातका कारण सोमबार राति १ बजेर ४० मिनेटमा निधन भएको हो।
ज्वरो आएपछि सोमबार दिनभर घरमै आराम गरेका ६९ वर्षीय नेता नेम्वाङको निधनले नेपालको राजनीतिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको नेताहरूले बताएका छन्।
उनलाई श्रद्धाञ्जली दिने र संगत गरेका नेताहरूले नेम्वाङको समन्वयकारी भूमिकाको स्मरण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको बताएका छन्।
राष्ट्रपति पौडेलको सचिवालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ- सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ। दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको असामयिक निधनले आफू मर्माहत भएको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्- संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु। दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेम्वाङको निधनबाट असल र लोकप्रिय नेता गुमाउनु परेको बताएका छन्। ‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ । प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु,’ घिमिरेले भनेका छन्, ‘दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेम्वाङको निधनबाट आफू स्तब्ध भएको बताएका छन्। ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ देउवाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेम्वाङलाई एक निडर र इमान्दार राजनीतिकर्मीको रूपमा स्मरण गरेका छन्। ‘मसँग लामो राजनीतिक सहकार्य गर्नभएका कमरेड सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनायो। एक निडर र इमान्दार राजनीतिकर्मीका रूपमा विद्यार्थी राजनीति हॅुदै कोअर्डिनेशन केन्द्र, नेकपा माले र नेकपा एमाले पार्टी निर्माण एवम् विस्तारमा उहॅाले लिनुभएको पहलकदमी, खेल्नुभएको भूमिका, दिनुभएको योगदान, नेतृत्व र समन्वयका अनेकन पहलहरू मेरो मानसपटलमा ताजै रहेका छन्,’ नेपालले भनेका छन् ‘केवल पार्टी निर्माणमा मात्र नभई व्यवस्था परिवर्तन, समाजको रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्दै नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ भन्ने मान्यता सहित सिंगो जीवन नै संघर्षमा होम्नुभएका कमरेड नेम्वाङसॅग राजनीतिक र सामाजिक जीवनका अनेकौं सहज एवम् असहज परिस्थितिमा भएका सहकार्यहरू सम्झिएको छु र उहॅाको भूमिका प्रति उच्च सम्मान प्रकट गर्दछु।’
नेम्वाङ २०६३ सालमा पुनर्स्थापित प्रतिनिधि सभाको सभामुख हुँदा नेपाल एमालेका महासचिव थिए। सशस्त्र संघर्ष छोडेर संसदीय प्रक्रियामा आएको माओवादीलाई पनि सन्तुलन गरेर अघि बढ्न नेम्वाङको भूमिका महत्वपूर्ण थियो। त्यसपछि नै नेम्वाङको राजनीतिक उचाइ थप बढेको थियो। त्यसैले पनि उनलाई सम्झिने नेताहरूले उनको भूमिको याद गरेका छन्।
पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेम्वाङलाई आँखामा राख्दा पनि नबिझाउने नेताका रूपमा स्मरण गरेका छन्। ‘आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति व्यहोरेको छ। मैले आत्मीय मित्र गुमाएको छु,’ भट्टराईले भनेका छन् ‘उहॉप्रति हर्दिक श्रद्धान्जली, परिवारजन र पार्टी पंक्तिमा गहीरो समवेदना।’
नेम्वाङप्रति रास्वपा सभापति रवी लामिछाने, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले श्रद्धाञ्जली व्यक्त गर्दै उनको राजनीतिक योगदानको सम्झना गरेका छन्।

