दमक नमुना पार्क (नमुना बजार) मास्ने प्रपञ्च ! मेयर राम थापाले भने-मास्न म दिन्न
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकको पहिचानको रुपमा स्थापित भइसकेको दमकको दमक नमुना पार्क (नमुना बजार) मास्नका लागि प्रपञ्च भएको खुलासा भएको छ । स्थानीय ब्यवसायीको माग सहित वडा नं. ६ ले दमकको पहिचानको रुपमा चिनिएको दमक नमुना पार्क (नमुना बजार) मास्न सिफारीस सहितको राय पठाएको खुलासा भएको हो ।
नेपाल उद्योग तथा ब्यबसायी महासंघ दमक नगर कमिटिले उक्त दमक नमुना पार्क (नमुना बजार)लाई ब्यवस्थित गर्नका लागि माग सहित बिमल खतिवडा र रमेश लुईटेलको नेतृत्वमा दमक नगरपालिका गएको टोलीले दमक नगर प्रमुख थापाको ध्यानकर्षण गराएको थियो । दमक नमुना पार्क तथा बजा्र यस क्षेत्रको गौरव गर्न लायक बन्दै गएको अवस्थामा यसलाई ब्यवस्थित गर्न महासंघको माग थियो ।
उक्त टोलीको माग सुनेपछि टोलीसंग छलफल गर्दै नगर प्रमुख रामकुमार थापाले उक्त नमुना बजार मास्नका लागि आफुसंग माग आएको खुलासा गर्नु भएको हो । त्यत्रो लागतमा बनाईएको दमक नमुना पार्क (नमुना बजार)लाई मास्नु हुँदैन भन्ने मेरो पनि धारणा हो, थापाले भन्नुभयो । यसलाई कसरी ब्यवस्थित गर्न सकिन्छ भनेर यहाँहरुले पनि सल्लाह दिनुहोला, थापाको भनाई थियो । वडा नं. ६ वार्ड कार्यालयले दमक नमुना पार्क (नमुना बजार) हटाउनका लागि लेखेर पठाएको पत्रको बिषयमा पनि थापाले कुरा उठाए ।
नेपाल उद्योग तथा ब्यबसायी महासंघ दमक नगर कमिटि अध्यक्ष रमेश लुईटलले वार्ड कार्यालयलाई आफुहरुले दमक नमुना पार्क (नमुना बजार) ब्यवस्थित गर्न लिखित माग गरेको तर सम्बोधन नभएको बताएका थिए । जवाफमा नगर प्रमुख थापाले ब्यवस्थित गर्न होइन मास्नका लागि माग आएको उल्लेख गरे ।

यसलाई ब्यवस्थित गरेर नमुना नै कायम गर्नु पर्ने आफ्नो पनि चाहना रहेको नगर प्रमुख थापाले जनाए । त्यहाँका ब्यवसायीहरुसंग समेत छलफल गरेर अघि बढ्ने र त्यसलाई नभत्काईने थापाले स्पष्ट पारेकाछन् ।
दमक- ६ स्थित मुख्य बजार क्षेत्रमा रहेको दमक नमुना पार्क (नमुना बजार)को उद्घाटन पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । दमक बजारको मुटुमा रहेको १७५ मिटर लम्बाई भएको सडक एक करोड ५ लाखको लागतमा निर्माण शुरु भएको थियो । त्यसपछि पनि त्यसलाई आकर्षक बनाउन लागत थपिएको थियो ।

