२०८३ बैशाख ४, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ दमक ६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको इकाइगत १२ औं बार्षिक साधारण सभाको बुधबार औपचारिक कार्यक्रमबीच समापन गरिएको छ । साता अघिदेखि विभिन्न सेवा केन्द्रहरु मार्फत शुरु भएको संस्थाको १२ औं साधारण सभाको निर्णय एकीकृत तथा प्रमाणिकरण गर्दै सभा सम्पन्न गरिएको हो ।

दमकस्थित दमक उद्योग वाणिज्य संघको सभाकक्षमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्यमा भएको साधारण सभा समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख भट्टराईले सहकारीहरुमा मात्रै नभएर समग्र व्यवसायिक क्षेत्रनै आर्थिक मन्दीको प्रभावमा परिरहेको बताउँदै अप्ठयारो अवस्थाको सबैले मिलेर सामना गर्नुपर्ने बताइन । उनले सहकारी संस्थाहरुको नियमन तथा अनुगमन प्रभावकारी रुपमा अघि बढाउन स्थानीय सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरिन ।

उपप्रमुख भट्टराईले संस्थाको सञ्चालनमा स्थानीयहरुको सहभागितानै संस्थाका सदस्यहरुको रकम सुरक्षित हुने बलियो आधार भएको चर्चा गर्दै निर्धारित मापदण्ड र अनुशासन भित्र रहेर भएका कमी कम्जोरीलाई सच्याउँदै सहकारी सञ्चालन गर्न सके सदस्यहरुको विश्वास जित्न सकिने उनको सुझाव थियो ।

संस्थाका अध्यक्ष दिपक खरेलले बार्षिक प्रतिवेदनका बिषयमा प्रकाश पार्दै संस्थाले चलाएका अधिकाशं बचत कार्यक्रमहरुमा सक्रिय सहभागिताका लागि सदस्यहरुलाई आव्हान गरे । उनले कर्जा लगानीको ब्याज तथा साँवा रकम असुलीमा संस्थाले सुक्ष्मरुपमा काम गरिरहेको बताउँदै आर्थिक प्रगति भन्दा संस्थाका सदस्यहरुको सेवालाई प्राथमिकता दिइएको बताए ।

सभामा लेखा समिति संयोजक ताराप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाको उदघाटन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, पूर्व अध्यक्ष विजयप्रसाद बराल, सहकारी मेनेजर्स क्लब झापाका अध्यक्ष खोमप्रसाद बगाले लगायतले संस्थाबाट कर्जा लिने र संस्थामा बचत गर्ने उस्तै सदस्यहरु भएको बताउँदै कर्जा तिर्नुपर्ने दायित्वबाट कोही पनि उम्किन नसक्ने उल्लेख गरे ।

आर्थिक अनुशासन उल्लंघन गर्ने जोकोहीका कृयाकलपाहरुको समाज र राज्यका निकायहरुले सुक्ष्म रुपमा नियालिरहेका हुनाले भविष्यमा कहीं कतै पनि कारोबार गर्ने आधार बन्द हुने यथार्थलाई आत्मसाथ गर्न आम सदस्यहरुलाई आव्हान गरे ।

संस्थाका उपाध्यक्ष रोशनकुमार गौतमले स्वागत मन्तव्य राख्दै संस्थाका सदस्यहरुले गरेको विश्वासलाई कुनैपनि हालतमा टुटन नदिने प्रण गर्दै असहज परिस्थितीमा सबैलाई साथ दिन आग्रह गरे । उनले कर्जा असुली प्रकृयामा रहेका कतिपय बाधा व्यवधानहरुलाई हटाउन राज्यका निकायले र जनप्रतिनिधिहरुले सहयोग गर्नु आवश्यक भएको उल्लेख गरे ।

संस्थाका सचिव ज्ञाननाथ पौडेलका अनुसार संस्थाले गत आििर्थक बर्षमा कर्जा असुलीको तुलनामा बचत तथा निक्षेप फिर्ता ५ करोड भन्दा बढी गरिएको बताएका छन । असार सम्ममा मात्रै २३ करोड बढी फिर्ता गर्नुपर्यो , त्यसपछि पनि फिर्ता भएको निक्षेप रकमको हिसाब गर्ने हो भने ४२ करोड हाराहारीमा फिर्ता गर्नुपर्दा बेलाबखत समस्या भएको सचिव पौडेलले बताए ।

उनले खराब नियतका कारण कतिपय सहकारी संस्थाहरुले बचतकर्ताको रकम अपचलन गरेको बिषय सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुबाट बाहिर आएको र अनर्गल प्रचारमा विश्वास गर्दा द एभरेष्टबाट मात्रै नभई दमकमा नाम चलेका अन्य सहकारीहरुबाट पनि निक्षेपकर्ताहरुले रकम फिर्ता लगिदिँदा यो समस्या भएको उल्लेख गरे ।  सहकारीहरुमा भएको रकम तान्नैका लागि बैंकहरुले अस्वभाविक रुपमा बढी ब्याजको प्रलोभन देखाएर सदस्यहरुबाट पैसा लगेको र अहिले बैंकमा थुप्रिएको पैसा सर्वसाधारणले कर्जाका रुपमा लिनु पर्दा सास्ती खेपिरहेका सहकारी अभियान्ताहरुको साझा निष्कर्ष रहेको संस्थाका व्यवस्थापक धर्मानन्द भट्टराइले बताए ।