झापामा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गयो
दमक/ झापा कनकाई नगरपालिका-९ घैलाडुब्बा सडकमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश २–०३–०१५प ४०७८ नं को मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कन्काई-९ घैलाडुब्बा बस्ने करिब ४० वर्षीय सञ्जय शाह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हस्पिटल पुर्याउनासाथ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
यसैगरी १९ दिनअघि झापाको बाह्रदशीमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका ट्रयाक्टर चालकको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ ।
कात्तिक ९ गते मध्यान्ह बाह्रदशी वडा १ बिरिङ खोलानजिक हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ६३४४ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टर चालक बाह्रदशी १ बस्ने २१ वर्षीय राजेन्द्र राजवंशी घाइते हुनुभएको थियो ।
छातीमा चोट लागेर घाइते राजवंशीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज बिहान ७.३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

