ठडियो नेपालकै अग्लो दमक भ्यू टावर
विष्णुप्रसाद पोखरेल
दमक । झापाको दमक नगरपालिका वडा नं. ३ स्थित टुकुरेमा बन्दै गरेको नेपालकै सबैभन्दा ठुलो भ्यू टावर ठडिएकोछ । निर्माण सम्पन्न भईनसक्दै आन्तरिक पर्यटकहरु आन थालेकाछन् । भ्यू टावर ठडिएपछि फोटो खिच्नका लागि पर्यटकहरु आउन थालेकाहुन् ।
वि.स. २०७२ सालमा दमकमा नेपालकै सबैभन्दा अग्लो भ्यू टावर बनाउने योजना सार्वजनिक भएको थियो । बि.स.२०७३ सालमा स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएपछि दमक भ्यू टावरको काम अघि बढेको थियो । नेपालकै राष्ट्रिय गौरवको परियोजनाका रुपमा दमक भ्यू टावरको शिलन्यास भएको भएपनि २०७६ साल असार २७ गतेबाट निर्माणको काम शुरु भएको हो ।
एक सय मिटर उचाइको १८ तले र त्यसमाथि मेटलको ३ तला गरेर २१ तले भ्यू टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले ठेक्का पारेका थिए । २०७६ साल असार २७ गते निर्माण सम्झौता भएर २०७८ साल पुस २७ गते निर्माण सम्पन्न गर्नु पर्ने भएपनि पुर्ण रुपमा अहिलेसम्म सम्पन्न भएर हस्ताण्तरणको चरणमा भने पुगेको छैन ।
भ्यू टावरको पूरै भवनको संरचना एक सय मिटर अग्लो भएको । यो काठमाडौँको पुनःनिर्माण भएको भीमसेन धरहराभन्दा १६ मिटर अग्लो भएको बतार्ईएको छ । बारम्बार समय थप हुँदै आएको छ । बजेट अभाव र कोरोनाका कारणले गर्दा समयमा काम नसकिएको बताईने गरेको छ । १ अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा भ्यू टावरको ठेक्का लागेको सघन शहरी तथा भवन निर्माण आयोजना झापाले जनाएको छ ।
यो भ्यू टावरमात्र नभएर बहुद्धेशीय कर्मसियल भवन भएको दमक नगरपालिका वडा नं. ३ का वडाध्यक्ष नविन बरालले बताउनु भयो । भ्यू टावर भनेर यो निर्माणमा भाँजो हाल्ने काम पनि धेरै भए, उहाँले भन्नुभयो । यो ब्यवसायीक भवन हो भन्ने बुझाउन पनि धेरै समय लाग्यो, उहाँको भनाई छ ।
अण्डर ग्राउण्ड पार्किङ सहितको भ्यू टावर भित्र पसलहरु, सेमिनार हल, होटल, लन्च, बार लगायतका लागि संरचनाहरु डिजाईन गरिएको छ । चिल्ड्रेन पार्क, नाटकघर तथा थिएटरहरु पनि हुनेछ । यहाँ सास्कृतिक संग्राहलय समेत रहने भएकाले यो पुर्वको मात्र नभएर नेपालकै गौरव लायक पर्यटकीय गन्तब्य बन्ने अपेक्षा लिएका छौ, उहाँले भन्नुभयो ।
सघन शहरी तथा भवन निर्माण आयोजना झापाका साइट इन्जिनियर भुपेन्द्र यादवका अनुसार ९० प्रतिशतभन्दा बढि काम सकिएकोछ । मुख्य कामहरु सकिएको र अहिले भ्यू टावरको आसपासका संरचनाहरु पनि निर्माणको काम भइरहेको छ । यहि आँउदे मंसिरसम्ममा काम सकिने उहाँले जनाउनु भयो । बारम्बत्रार म्याद थपिएको र अब मंसिरसम्मको म्यादमा काम सकिने अपेक्षा छ, उहाँले भन्नुभयो ।
स्थानीय जग्गादाता समेत रहनु भएका रुपक दहालका अनुसार अहिले भ्यू टावर बाहिरबाट नै हेर्नका लागि पनि आन्तरिक पर्यटकहरु आउन थालेकाछन् । देशका बिभिन्न भागहरुबाट बिद्यार्थी, कृषि समुह, किर्तन मण्डली लगायतका बिभिन्न समुहहरु सवारी साधन रिजर्भ सहित आउने गरेको उहाँले जनाउनु भयो ।
दमक तथा आसपासबाट पनि आएर फोटो खिच्ने, टिकटक बनाउने गरेपछि टाढाबाट पनि पर्यटक आउन थालेको उहाँ बताउनु हुन्छ । भ्यू टावर जाने बाटो कच्चि भएकाले चाँडो निर्माण गर्नु पर्ने आफुहरुको माग रहेको उहाँ बताउनु हुन्छ । करिब ५ सय मिटर सडक कच्चि भएकाले यो बनाउनु पर्छ, उहाँले भन्नुभयो ।

