२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

बिरेन्द्र तामलिंग/ सिक्किम

नेपाल र सिक्किमको सम्बन्धमा कुनै आँच आउने छैन पहिले जस्तो थियो त्यस्तै रहन्छ: अझ प्रगाढ़ भएर जानेमा कुनै सन्देह छैन

सिक्किम (भारत) र नेपालको (१) नंबर प्रदेशले ९९ किलोमीटर लामो सिमाना साँझा गर्छ र अजंग पहाड़ चिवाभन्ज्यांग र बिश्वको तेस्रो भीमकाय उच्च हिमाल कंचनजंगा नेपाल र सिक्किमको सिमानाको रूपमा अवस्थित छ,नेपालपट्टी कंचनजंगामा चढ़ने अनुमति पाए पनि हामी सिक्किमेहरु उच्च हिमाल कंचनजंगालाई “अति पवित्र” एक आराध्य देवको रूपमा पुजा गर्छौ र सिक्किम पट्टीबाट चढ़ने अनुमति सरकारबाट दिइन्दैन, चढ़न निषेध छ ।

यो दुई हिमाल र पहाड़ले मात्र हाम्रो दुई राज्यको साँध- सिमाना छुटाएको छ तर नेपाल र सिक्किमको भौगोलिक बनावट र रहन – सहन, खान – पान, भेष – भुषा, भाषा, जात -जाति, थर – गोत्र,संस्कृति,दस्तुर, परम्पराहरु प्रायः जस्तो एकै छन् अनि नाता -गोता, कुल – कुटुम्ब हितैषी मित्रहरु रहेको ठाउँ हो । दुवै राज्य प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले ग्रामीण पर्यटन क्षेत्रमा पनि दुवै राज्यमा प्रसस्त सम्भावना बोकेकोले ग्रामीण पर्यटन क्षेत्रले पनि सम्बन्ध कसिलो बनाउँछ यसमा कुनै दुईमत छैन ।

नेपाल र सिक्किमको सम्बन्धको बिषयको इतिहास कोट्याउँदा धेरै गहिरैमा जानु पर्ने हुन्छ तर सिक्किम र नेपालको सम्बन्ध युगौ देखिको हो अनि प्रगाढ़ रहेकोछ, सिक्किमका इतिहासविद अथवा पूर्व मन्त्री श्री बिरबल सुब्बा भन्नु हुन्छ, ” नेपाल देशको १३ थुम मध्ये १ थुम सिक्किमको पश्चिम जिल्ला पहिले गेजिंग जिल्ला र अहिले दुई जिल्ला (गेजिंग र सोरेंग जिल्ला) नेपालको एक थुम रहेको दावी गर्नु हुन्छ।” समग्रमा भन्नु पर्दा कुनै समय नेपाल र सिक्किम एउटै देश थियो । जे होस, नेपालका राजनीतिज्ञ, पुराना कलाकार देखि लिएर अहिलेका गीत संगीत क्षेत्रका चर्चित कलाकारहरुमा, जस्तै उदय – मनिला सोतांग, मेलिना राई, मिलन नेवार, डॉ त्रिशाला गुरुंग देखि फिल्मी जगतका कलाकारहरु,आधुनिक कवि नवराज पराजुली सहित विभिन्न खेलाड़ीहरुले सिक्किम नेपालको सम्बन्धलाई प्रगाढ़ बनाई राखेको छ । हाम्रो सिक्किमका नवदित कलाकारहरुले नेपालमा आयोजना हुने गान र नाँचको ठुला ठुला कार्यक्रमहरु (रियलिटी शो)- मा सहभागी जनाएर आफ्नो क्षेत्रमा अघि बड़ने मौका पाएका छन् भने बराबर सम्मान र इज्जत पाउने गरेका छन् ।

नेपालबाट सिक्किम आएर युगौ देखि सिक्किम र सिक्किमेबीच मैत्री भाव स्थापित गरेर यहाँ धेरै नेपालका नागरिकहरु गाउँ बस्ती अनि शहरी क्षेत्रमा बसेका छन् , धेरैकोमा यहाँ सिक्किमको वोटर कार्ड, आधार कार्ड, राशन कार्ड, ड्राइविंग लाइसेंस पनि उपलब्ध छ, गाड़ी चलाएर कतिले श्रमिक गरेर जीवन धानी रहेका छन् भने कतिले अकुत सम्पति पनि कमाएका छन् तर स्थानीय कसैले तिमीहरु नेपालको हो भनेर हेला – होचो गरेको छैन, न सिक्किमको सरकारले अन्याय गरेको छ, न यहाँको नागरिकहरुले ‘नेपालको’ भनेर आवाज उठाएका छन् ।

गाउँ बस्तीतिर जमीन कमाएर कुतियादार /अधियादार भएर बसेका छन् तर पुरै इम्मानदारी पूर्वक आफ्नो जिम्मेवार निभाउने गर्छन् , पौराखी छन् सबैले सम्मान र इज्जत र माया गर्छन् । नेपाली नागरिकहरुको सिक्किमको बसाईको क्रममा कस्तो अनुभव छ भन्ने बिषयमा धेरै यूट्यूबर/ ब्लॉगरहरुले वीडियो बनाएर अपलोड गरेका छन् त्यो साक्षी नै प्रयाप्त हुन्छ । हाम्रो सिक्किमको नागरिकहरु त त्यहाँ नेपालमा त्यस्तो व्यवसाय गरेर बस्ने त्यति छैन होला जस्तो लाग्छ तर कहिले कही नेपालतिर पर्यटक भएर घुम्नु जाँदा राम्रै ब्यवहार र इज्जत गरेको देख्न पाइन्छ ।

नेपालका सबै कलाकारहरु आए/गए सबैले सिक्किमबाट सोचे भन्दा धेरै इज्जत र इम्मान पाएको जस्तो लाग्छ र सिक्किमबाट नेपाल जाने कलाकारहरुले पनि त्यहाँ सम्मानित भएर आउने गरेका छन् तर भर्खरै नेपालको खोटाँग भन्ने ठाउँबाट यूट्यूबर/ ब्लॉगर उमा चामलिंग राई बहिनी सिक्किममा पाल्नु भएको थियो । उहाँको ब्लॉगहरु म पनि हेर्ने र सुन्ने गर्छु, “आउनु होस है, नेपाल खोटाँगमा कोदोको बाकुलो जाड़ खानु” कहिले उहाँको आमासँग कोदो टिप्दै गरेको अनि कहिले गोरुको मासु खाँदै गरेको वीडियो फुटेज/ब्लॉगहरु अपलोड गर्नु हुन्थ्यो तर उहाँको भर्खरैको सिक्किम बसाईको क्रममा एउटा वीडियो अपलोड गरेको कारण उहाँ पक्राउ परेको छापामा आएको थियो “राज्यको शान्ति, श्रृंखला, एकता,सद्भावना बिथोल्ने प्रयास गरेको आरोपमा नेपाल निवासी यूट्यूबर उमा चामलिंगलाई पुलिसले पक्राउ गरेको छ ।

मुख्य रूपमा चामलिंग नेपालको खोटाँग निवासी हुन् भने उनी केही दिन अघिदेखि सिक्किममा छन् “(हाम्रो प्रजाशक्ति, ३१ दिसम्बर २०२३) कतिपय नेपालको ऑनलाइन न्यूज पोर्टलहरुले सिक्किमका मुख्यमन्त्री पीएस गोलेज्युको ठाडो निर्देशनमा उमा चामलिंग राई पक्राउ परेको दावी गरे पनि त्यो सरासर निराधार हो, यसको कुनै प्रमाण छैन । यस बिषयमा सिक्किमका सम्मनानीय मुख्यमन्त्री श्रीमान पीएस गोलेज्युले बोल्नु भएको अंश यस लिंकमा राखिएको छ ।

https://fb.watch/pl7EdFq3QT/?mibextid=Nif5oz

वर्तमान अवस्थामा सिक्किम राज्यका सम्मनानीय मुख्यमन्त्री श्रीमान पीएस गोलेज्युको नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले कुनै जातिलाई अन्याय गरेको छैन सबै जात – जाति र धर्मलाई सम्मान अधिकार, न्याय र बिकास दिएकोछ यो कसैको आँखाबाट लुकेको छैन, सायद देशको अन्य राज्यहरुमा यस्तो नहोला ।

अहिलेको जमानामा एउटा जातलाई उचालेर अरु जातलाई होच्याए अथवा दबाएर सत्ताको सिढ़ी चढ़नु नसोच्दा हुन्छ, नेता भन्दा जनता अहिले बाँठा छन् उहिले १९औ शताब्दी ३० वर्ष अघि १९९४ तिर चाही जमाना निक्कै पुरानो थियो जनताले पत्याउथे तर यो २१औ शताब्दीको जमाना हो, समयले धेरै पछि छोड़यो यो छिप्पेको जमाना हो ढाटनु /छल्नु भनेको आफै नाङ्गो हुनु बराबर हो । वास्तवमा एक जना गेजिंग जिल्ला अन्तर्गत चिंगथांग निवासी शिला राईद्वारा राजधानी गान्तोकको सदर थानामा २९/१२/२०२३ को दिन उमा चामलिंग राई विरुद्ध प्राथमिकी (उजुरी) दर्ता गरेपछि त्यसैको आधारमा उनलाई पुलिसले इंडियन पेनल कोडको धारा १५३ए, १५३बी, ५०५(१), ५०५(२) अन्तर्गत मुद्दा दर्ता गरेपछि पक्राउ गरिएको थियो ।

त्यसैलाई निहुँ पारेर नेपाल तर्फबाट साह्रै नराम्रो गाली/ गलौज आयो “सिक्किमे धोतीहरु थुक्क” त्यो गाली के कारणले गर्‍यो भन्ने कुरा हामी राम्रोसँग बुझ्छौ तर सिक्किमेहरु धोती लगाउँदैनन् नेपाली नागरिक सरह सामान्य लुगा लगाउने र उत्सवहरुमा जाति अनुसारको भेष – भुषा लगाउने चलन छ तर यहाँको नागरिकले धोती चाही कदापी लगाउँदैनन्, हाम्रो देश पक्कै पनि भारत हो, सिक्किम भारतको अभिन्न अंग हो हामी भारतीय हौ हाम्रो देश भारतलाई हामी अति माया गर्छौ, हामी भारतीय भएकोमा हामी गर्व महसुस गर्छौ, देशको संविधानलाई शिरोधार्य गर्छौ ।

सिक्किमेहरु जति सायद देशमा अन्य राज्यले हाम्रो देश भारतलाई माया गर्दैन होला जस्तो लाग्छ, देशको राजधानी दिल्लीमा कुनै पनि राष्ट्रीय पर्व मनाउने कार्यक्रम आधा देखि एक घण्टामा समाप्त हुन्छ भने यहाँ सिक्किममा हर्षोल्लासको साथमा राष्ट्रीय पर्वहरु हप्ता दिन देखि पन्द्र दिनसम्म मनाउँछौं, नेपालमा जन्म लिनुभएको आदि कवि भानुभक्तको जन्म जयन्ती त्यहाँ कस्तो मनाउनु हुन्छ त्यो हामीलाई थाहा छैन तर यहाँ सिक्किममा हर्षोल्लासको साथमा सिक्किममा रहेको बहुजातीय संस्कृतिको झांकी सहित निकालेर जातीय सद्भावनाको रूपमा पालन गर्दै श्लोक, विभिन्न जातीय नाँच – गान, कविता, कथाहरु दिनभरको कार्यक्रममा समावेश गर्छौ ।

यो हो हाम्रो जातीय एकता अनि सद्भावना, सिक्किमका पूर्व मुख्यमन्त्री एवं आधुनिक सिक्किम निर्माता स्व° नर बहादुर भण्डारीज्युले जहिले भन्नु हुन्थ्यो, “सिक्किम ४ जात ३६ वर्णको साँझा फुलवारी हो सधै मिलेर बस्नु पर्छ” सिक्किमले अहिलेसम्म उहाँको यो भनाईलाई अक्षुण्ण राखेकोछ, यहाँ कुनै जातिले अर्को जातिलाई हेला – होचो गरेको छैन, जातीय दंगा/हिंसा भएको छैन, सबै जातीय पर्वहरु एका – अर्कामा मिलेर मनाउने चलन छ ।

सिक्किमे जात – जातिहरु नंग – मासु जस्तो मिलेर बसेकोलाई असामाजिक तत्वहरु, भरौटे/ खेतालाहरुले खल्बलाउनु खोजे पनि सिक्किमेली नागरिक सजक छन् अनि यसको शुत्रपात कहाँबाट भयो र यसको सही उद्देश्य के थियो ? भन्ने कुरा सिक्किमेली नागरिकहरु सबैले सजिलै बुझेका छन् । यसैलाई लिएर वर्तमान मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिंगज्यु आफ्नो फेस बुक पेजमा लेख्नु हुन्छ, ” अब सिक्किमे हुनुको भावना जागृत हुँदै जाँदैछ अनि सिक्किम बलियो भएर अघि बड़नेछ । नेपालले दिएको गालीहरु आउने दिनहरुमा सबै सिक्किमे जनताको माया भएर हामी माथि बर्षिनेछ, जो शुरू भईसकेको छ ।”

यूट्यूबर / ब्लॉगर उमा चामलिंग राईले अपलोड गर्नु भएको एउटा वीडियो ब्लॉग हेर्दा र सुन्दा उहाँ एक साह्रै जातिवादी सोच भए जस्तो लाग्यो । यहाँ सिक्किममा कसले केको मासु खायो त्यो सोध – खोज हुँदैन आफ्नो इच्छा र जात अनुसार खाने गर्छ यहाँ सबै जात जाति मिलेर बसेको छ । तर उहाँको यो वीडियोले हाम्रो सिक्किममा त केही फरक पर्दैन तर नेपाल देशमा कुनै न कुनै दिन जातीय हिंसा/दंगा पक्कै पनि हुन सक्ने प्रवाल सम्भावना बड़ेको छ, त्यस वीडियोको लिंक यहाँ राखिएको छ ।
https://m.facebook.com/groups/1792188137837657/permalink/2338203859902746/?mibextid=Nif5oz

आफु माथि प्राथमिकी दर्ता भए पछि सोध – पुछ र कसैसँग सम्पर्क हुनु नदिनु त्यो एक सामान्य कानुनी प्रक्रिया मात्र हो । त्यसलाई यातना दियो भन्नु मिल्दैन तर ५ दिन पुलिस रिमाण्डमा रहने न्यायलयको आदेश हुँदा हुँदै उहाँको ज्यानको सुरक्षाको कारण नेपालको सुरक्षा निकायलाई सकुशल जिम्मा लगाउनु भनेको प्रशासनले दिखाएको मानवता र दुई देशको आदर्श सम्बन्ध भन्न सकिन्छ । सिक्किमको नागरिक नेपालमा त्यस्तो कुनै मुद्दामा फसे सायद यस्तो सजिलो हुने थिएन होला, किन भने यो अन्तराष्ट्रीयस्तरको मुद्दा हुन जान्छ, यसको जरा निकै लामो गाड़िएको हुन्छ । तर जे भए पनि यूट्यूबर /ब्लॉगर उमा चामलिंग राई बहिनीले आवेशमा आएर केही अपठ्यारो शब्दहरु बोली पठाएको हुनु सक्छ, उहाँले सिक्किमको सबैलाई नभए पनि सिक्किमका केहीलाई माफी माँगनु भएको छ, एसो उहाँको उमेरलाई हेर्दा पनि माफी दिनु सकिन्छ जस्तो सिक्किमेहरुलाई लागेको छ ।

भारतको सिक्किम राज्य एक संवेदनशील राज्य हो, राज्यले पश्चिममा नेपाल र भुटान अनि पूर्व दिशामा (टीएआर) चीनसँग अन्तराष्ट्रीय सिमाना साँझा गर्छ । सिक्किम राज्यमा बिदेशीहरुको निम्ति अघिबाटै इनर लाइन पर्मिट लागु छ । ” Foreigner must obtain INNER LINE PERMIT to visit Sikkim.” तर अब सिक्किम राज्यलाई आंतरिक सुरक्षा र असामाजिक तत्वहरुबाट बचाउनु हो भने पर्यटन क्षेत्रलाई छुट दिएर देशको उत्तर पूर्वीय चार राज्यहरु अरुणाचल प्रदेश, नागालैंड, मिजोरम, मणिपुर सरह कड़ाईको साथमा इनर लाइन पर्मिट (आईएलपी) लागु हुनु अति आवश्यक रहेको सिक्किमे बौद्धिकस्तरका ब्यक्तित्वहरुले महसुस गरिरहेका छन् ।

यधपि, नेपाल र सिक्किमको प्रशासन र सचेत नागरिक यस्तो सानोतिनो झिंजा-मिंजामा नअल्झिए र हाम्रो गाड़ा सम्बन्ध र भाईचारा सधैको निम्ति असल राख्नु सक्नु पर्छ, अन्तमा दुवै देशका नागरिकलाई अंग्रेजी नयाँ वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना सहित ।

(लेखक बिरेन्द्र तामलिंग, सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टी उपाध्यक्ष (प्रभारी) प्रचार – प्रसार प्रभाग , हुनुहुन्छ )