जब सुरक्षितस्थल खोज्दै दमकमा प्रहरी कार्यालय परिसर भित्र छिर्यो जंगली हात्ती ! (भिडियो सहित)
बिष्णुप्रसाद पोखरेल
दमक । झापाको दमक बजार क्षेत्रमा जंगली हात्ती प्रवेस गरेपछि भागदौड मच्चिएको छ । सोमबार विहान करिब साढे ४ बजे दमकको मुख्य बजार क्षेत्रमा एउटा बयस्क हात्ती देखिएपछि स्थानीयहरुले कराउदै हात्ती लखेट्ने प्रयास गरेका थिए ।
हात्तीलाई सुरक्षित स्थानतिर लखट्ने क्रममा एकजना घाइते बन्नु भएको छ । स्थानीय दिनेश अधिकारी घाईते बन्नु भएको र उहाँको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ । सामान्य चोट लागेको हो ।
https://www.facebook.com/prabhabkarikhabar/videos/1418532315727235/
सबैतिरबाट कराउदै हात्ती लखेटेपछि बजारको बीचमा रहेको इलाका प्रहरी कार्यालय दमकको परिसरभित्र हात्ती प्रवेस गरेको जनाईएको छ । हात्तीले प्रहरीको गेटमा धक्का दिएर भित्र नै प्रवेस गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाले बताउनु भयो । प्रहरीको गेटको चकुल बाँङ्गीएको छ ।
सबैतिर छेकेपछि कतै भाग्ने ठाँउ नपाएर प्रहरी कार्यालयको परिसरभित्र प्रवेस गरेको हुनसक्ने लामाले जनाउनु भयो । हात्तीले प्रहरी कार्यालय परिसरभित्र प्रवेस गरेपनि कुनै क्षति नपुर्याएको पनि उहाँले बताउनु भयो । केही समय प्रहरी कार्यालय परिसरभित्र नै हात्ती बसेको थियो । होहल्ला नगर्न प्रहरीले आग्रह गरेपछि र बाटो खाली गराएपछि हात्ती आफै सुरक्षित स्थानतर्फ गएको प्रहरीको भनाई छ ।
दमकको उत्तरी भेगमा सामुदायिक बन रहेकाले त्यता हात्ती आइरहने भएपनि बाक्लो शहरीकरण भएको बजार क्षेत्रमा अहिलेसम्म यसरी हात्ती नदेखिएको र यो पहिलो पटक भएको बताईएको छ । बथानबाट छुटेर हात्ती बजार क्षेत्रभित्र प्रवेस गरेको हुनसक्ने र यसले बजार क्षेत्र पनि हात्तीबाट असुरक्षित बन्न सक्ने जनाईएको छ ।
https://www.facebook.com/prabhabkarikhabar/videos/1418532315727235/

