२०८३ जेष्ठ २१, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ दमक उद्योग वाणिज्य संघले आँदो माघ २८ गतेदेखि फागुन १२ गतेसम्म गर्ने प्रदेश स्तरिय पाँचौ दमक महोत्सवको तयारीलाई तिब्र बनाइदै लगिएको छ । महोत्सव भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको संघका अध्यक्ष गोपाल गुरागाईले बताएकाछन् ।

महोत्सवमा ५ करोड बराबरको कारोवार हुनुका साथैं एक लाख दशर्कले प्रत्यक्ष अवलोकन गर्ने अनुमान रहेको गुरागाइले बताए । दमक ७ सयपत्री टोल रतुवा किनारमा महोत्सव हुनेछ ।

२०७४ सालपछि दमकमा महोत्सवको आयोजना हुन सकेको थिएन । कोभिड लगायतका कारणले महोत्सव हुन नसकेकाले यो महोत्सवलाई भब्य र सभ्य बनाइने संघका बरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक राजु खड्काले जनाए ।

स्थानीय उद्योग, व्यापार,व्यवसायको प्रवद्र्धनमा यस्ता महोत्सव उपयोगी माध्यम भएकाले यसले स्थानीय ब्यापारमा टेवा पुग्ने खड्काको भनाइछ ।

महोत्सवमा अनुमानित आम्दानीतर्फ १ करोड ३ लाख ५० हजार र त्यसमा कार्यक्रमका लागि ९८ लाख खर्च हुने अनुमानित गरिएको संघले जनाएको छ ।

खर्च मध्ये संघले यस महोत्सवबाट ५ लाख ५० हजार बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरागाईको भनाई छ । महोत्सवको बचत रकम निर्माणाधि इलम प्रशिक्ष्ण केन्द्रमा खर्च गरिने उल्लेख छ ।

महोत्सव प्रचारप्रसार समितिका संयोजक तुलसी तिम्सिनाका अनुसार महोत्सवको प्रचारप्रसार पनि तिब्र बनाईएको छ । यस पटकको महोत्सव सम्झन लायक बनाउने उदेश्य रहेको उनले बताए ।