२०८१ असार २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ महिना अगाडि

विष्णुप्रसाद पोखरेल

मैले जे देखे त्यहि लेखेँ

दमक/ झापाको दमकमा अस्पताल तथा क्लिनिकहरु खुल्ने क्रम बढेको बढ्यै छ । १५ बेड क्षमतासम्म स्थानीय सरकारले अस्पताल सञ्चालनका लागि अनुमति दिन सक्ने ब्यवस्था रहेको छ । यसले गर्दा अहिले अस्पताल तथा क्लिनिक खोल्नका लागि होडबाजि शुरु भएको छ ।

दमकमा अस्पताल सञ्चालनका लागि अनुमति माग्ने क्रम बढ्दै गएपनि बिडम्बना यहाँका ठुला भनिने अस्पतालहरुमा समेत चौबिसै घण्टा भिडियो एक्स रे सुविधा उपलब्ध छैन । सरकारी दमक अस्पताल देखि लिएर नीजि आम्दा अस्पताल, लाइफलाइन अस्पताल, निजि दमक अस्पताल, निम्स अस्पताल लगायतका अन्य कुनै पनि अस्पतालमा २४ सै घण्टा भिडियो एक्स रे सुविधा उपलब्ध छैन ।

दमक नगरपालिकाले निवेदनको आधारमा स्वास्थ्य संस्था अर्थात अस्पताल, क्लिनिक, ल्यावको कानूनी मापदण्ड, कार्यविधि र स्थानीय सरकारको कार्यक्षेत्र भित्र पर्ने गरी अस्थाइ तथा इस्थाइ दर्ता दिने ब्यवस्था छ ।

झापाको दमक ५ मा एउटा अस्पताल दर्ताका लागि प्रक्रियामा रहेको रहेछ । दमक नगरपालिकाले अनुगमन गर्ने जानकारी पाएपछि अनुगमनमा सहभागि भएको थियो । दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की सहित स्वास्थ्य शाखाका प्रमुख तथा अन्य प्रतिनिधिहरु, दमक अस्पतालका बिशेषज्ञ सहितको टोली अनुगमनमा रहेछ ।

झट्ट शुरुमा देख्दा त केही थोत्राथोत्री सामाग्रिहरु भण्डारनका लागि गोदाम बनाएको होला भन्ने लागेको थियो तर त्यो त अस्पतालको मुख्य मानिने ईमरजेन्सि कक्ष रहेछ । शुरुवातमा केही राख्ने गोदाम होला भनेको ठाँउमा इमरजेन्सि र थेरापी सेन्टर भनेर अस्पताल सञ्चालकले देखाइरहेका थिए । इमरजेन्सि भनेर देखाइएको र उल्लेख गरिएको ठाँउ (अस्पताल )  जाँदा एउटा सामान्य क्लिनिक जस्तो पनि खास नदेखिने रहेछ । टिनको छाना र वरिपरि टिनले नै बारेर बनाईएको  थियो ।

अनुगमनमा गएका अधिकाँशहरु त्यो संरचना देखेर अचम्मित भएका थिए । स्वास्थ्य शाखाका एक कर्मचारीले भन्दै थिए, कसरी अनुमति दिने होला यस्तोलाई ? तर दिन चाहानेहरु भन्दै थिए भुकम्प प्रतिरोधी र मापदण्ड त पुग्छ होला । पछि अनुमति पाइन्छ की पाइदैन भनेर अहिले देखाउनमात्र बनाईएको भनेर पनि त्यहाँ चर्चा भएको थियो ।

यसको संरचनाको बिषयमा त बहस होला र बिज्ञहरुले राय सुझाव पनि देलान । अनुमति पाउला वा नपाउला । तर अस्पताल जस्तो संवेदनशिल सेवा प्रदान गर्ने उदेश्य बोकेकाहरुले प्रतिस्पर्धि अस्पताल बनाउन भौतिक संरचना र सेवामा प्रतिस्पर्धा गरेर अन्य भएका भन्दा राम्रो दिनु पर्दैन र ?

अघिल्लो पटक यस्तै अनुगमन सौर्य हस्पिटल दमकमा भएको थियो । उसले लाजमर्दो ईमरजेन्सि बनाएको थियो । शौचालयको ढोका यस्तो थियो जहाँ पस्नका लागि कोल्टे पर्नु पथ्र्यो । त्यो बिषयमा तत्कालै म आफैले पनि यो त हद भयो भन्ने प्रतिक्रिया दिएको थिए । पछि यो ठाँउबाट अस्पताल नै सर्यो र अहिले सुविधा सम्पन्न बनेको देखियो ।

दमक नगरपालिकाले २ बर्षअघि अर्थात २०७८ मा स्वास्थ्य नियामवली बनाएको छ । यसैको आधारमा स्वास्थ्य संस्था दर्ता,नविकरण, अनुगमन गर्दै आएको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवाको सञ्चालन गर्न, नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाको व्यवस्थापन गर्न तथा स्थानीय तहको अधिकार क्षेत्र भित्र पर्ने स्वास्थ्य संस्थाहरूको सञ्चालन अनुमति प्रक्रिया, गुणस्तर मापदण्ड अनुगमन, नियमन, व्यवस्थापन संयन्त्र, सेवा विस्तार, स्तरवृद्धि जस्ता प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाई नगरपालिकामा स्वास्थ्य सेवालाई थप व्यवस्थित, जनमुखी र गुणस्तरीय बनाउन वाञ्छनीय भएकाले नगरपालिकाको स्वास्थ्य तथा सरसफाई ऐन, २०७५ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी, दमक नगरपालिकाले यो नियमावली बनाएको छ, उक्त नियामवलीको प्रारम्भमा भनिएको छ ।

नियामलिको परिच्छेद–५ मा स्वास्थ्य सेवा सञ्चालन र नविकरण प्रक्रियाको बिषयमा उल्लेख छ ।

स्वास्थ्य सेवा संचालन अनुमति तथा नवीकरण प्रक्रिया

नगरपालिका क्षेत्रभित्रका देहायका स्वास्थ्य संस्थाहरूको स्थापना, सेवा विस्तार वा स्तरोन्नति गर्न अनुगमन समितिको सिफारिसका आधारमा
नगरपालिकाले इजाजत अनुमति दिन सक्नेछ ।
(क) स्वास्थ्य क्लिनिक, आयुर्वेद क्लिनिक, सोवारिग्पा (आम्ची) क्लिनिक, होमियोप्याथी क्लिनिक र यस्तै प्रकारका अन्य क्लिनिकहरु,
(ख) फिजियोथेरापी केन्द्र, पुर्नस्थापना केन्द्र (मनोसामाजिक) प्राकृतिक उपचार केन्द्र, अकुपन्चर, अकुप्रेसर केन्द्र, युनानी उपचार केन्द्र,
योग ध्यान तथा शारीरिक व्यायाम केन्द्र, परम्परागत सेवा क्लिनिक र यस्तै प्रकारका अन्य क्लिनिक तथा सेवा केन्द्रहरु
(ग) जेरियाट्रिक परामर्श केन्द्र
(घ) “डि” र “इ” वर्गको प्रयोगशाला
(ब) १५ शैया सम्मको अस्पताल

स्वास्थ्य संस्थाको पूर्वाधार निर्माणका लागि मनसायपत्र लिनुपर्ने ब्यवस्था नियामवलीमा स्पष्ट रुपमा उल्लेख रहेको छ । नियामवलीको खण्ड ४० मा यस्तो छ ब्यवस्था –

(१) यस नियमावली बमोजिम स्वास्थ्य संस्थाको स्थापना, स्वास्थ्य सेवा विस्तार वा स्तरोन्नति गरी स्वास्थ्य सेवा सञ्चालन गर्न इच्छुक स्वास्थ्य संस्थाले आवश्यक पूर्वाधार निर्माण गर्ने प्रयोजनका लागि प्रचलित मापदण्ड बमोजिम अनुसुची–२ को ढाँचामा मनसाय पत्रका लागि निवेदन दिनुपर्नेछ ।

उपनियम (१) बमोजिम निवेदन प्राप्त हुन आएमा नगरपालिकाले निवेदन प्राप्त भएको पन्ध्र दिनभित्र देहायका विवरणहरु परीक्षण गर्ने प्रयोजनका लागि अनुगमन समिति खटाउन सक्नेछ ः–

(क) प्रस्तावित स्वास्थ्य संस्थाको व्यावसायिक कार्ययोजना,

(ख) प्रस्तावित स्वास्थ्य संस्था रहने स्थानको उपयुक्तता र जग्गाको
पर्याप्तता,
(ग) प्रचलित कानून बमोजिम प्रारम्भिक वातवारणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भए सो को प्रतिवेदन,
(घ) प्रस्तावित स्वास्थ्य संस्थाले सेवा पुर्याउने क्षेत्र, सो क्षेत्रको जनसंख्या र जनघनत्व,
(ब) प्रस्तावित स्वास्थ्य संस्थाले सेवा पुर्याउने क्षेत्रमा अन्य अस्पतालहरुको अवस्थिति र प्रस्तावित अस्पतालले पुर्याउने थप योगदान,

यसको अर्थ आवश्यकताको आधारमा अस्पतालहरुको दर्ता दिन सकिने भनेको हुनसक्छ । जसले माग्यो र कागजी वा देखावटी रुपमा अस्पतालको मापदण्ड पुग्यो भनेर दिने मनाशाय नहुनुपर्ने हो । अब स्थानीय सरकारको कार्यक्षेत्र हो भन्दै अस्पतालहरु धमाधम खोल्न दिईनुको सट्टा विशिष्ठिकृत अस्पतालहरु खोल्न प्रोत्साहित गर्ने हो की ?