२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

विष्णुप्रसाद पोखरेल

मैले जे देखेँ त्यहि लेखे

दमक/ लामो समयपछि पानी पर्यो । जसले किसानहरुलाई राहत दियो । सुकिसकेका बोटविरुवाहरुलाई राहत मिल्यो । समग्रमा लामो समयपछि पानी पर्दा एक प्रकारको मानिसहरुमा खुशि नै छायो । खडेरी जस्तो अवस्था आइसकेको थियो । यद्यपी पानीले राहत दियो । तर दमकमा पानीले राहत नभएर आहात दिए झै भएको छ ।

दमकको मुख्य बजार क्षेत्रका सडकहरु हिड्न वा सवारी साधन कुदाउन होइन धान रोप्नका लागि योग्य झै भएको छ । यो सडक हिड्दा वा सवारी गुड्न निक्कै मुश्किलको अवस्था देखिएको छ । सकड आसपासका बासिन्दा होस् या ब्यापारी, हिजो धुलोले खपिनसक्नु र बसिनसक्नु अवस्था थियो आज हिलोले त्यो भन्दा मुश्किल बनाएको छ । सडकमा आवतजावत गर्न निक्कै मुश्किल बनेको देखियो ।

विकासको नाममा दमकका सडकहरु भत्काइयो । नयाँ योजनाको नाममा दमकका सडकहरु अस्तब्यस्त बनाईयो । पक्कै पनि विकास क्रममा कहिलेकाही जनताले दुख पाउछौ र पाईन्छ तर यसरी महिनौ दुख पाउने अवस्था ल्याउनु दुखद हो । चरम लापरवाही हो । सरकारको नालयकीपन हो । संघीय, प्रदेश र स्थानीय तीन तहका सरकारछन् तर जनता तहको सरकारको अझै अभाव छ ।

स्थानीय सरकारले आफ्नो योजना होइन भनेर पन्छदा भयो । प्रदेश सरकार स्थानीय बिषय स्थानीय स्तरमा भन्नुहोस् भनेर तर्कदा भयो । संघीय सरकारलाई यतातिरको ध्यान जान नै के सक्थ्यो होला र ? आखिर दुख पाउने जनता हो । निर्माण ब्यवसायी तथा ठेकेदार त राजनीतिक संरक्षण र सरकारी संयन्त्रलाई किनेर नै बसेका हुन्छन् भन्दा फरक नपर्ला । यस्तै देखिन्छ ।

फोहोर फ्याक्ने ढल बनाउने योजनामा दमकका जनताले यति दुख पाएकाछन् की त्यो भनिसाध्य छैन । हुदाछदाका फराकिला चिल्ला पीच सडकहरु खण्डहरु बनेकाछन् । घामलाग्दा धुलोमैलो र पानीपर्दा हिलोमैलो उत्पादन गर्ने स्थल बनेको छ दमकका धेरै सडकहरु । एउटा सडक पुर्ण नभएसम्म अर्को सडक स्थानीय सरकारले भत्काउन नदिएको भए सायद आज यो अवस्था नआउन सक्थ्यो होला ।

दमक माईवारी क्षेत्रको मुख्य बजार तथा केन्द्र नै हो । अहिले ब्यापारीक केन्द्र दमकको कन्तबिजोग भएको छ । दमक बजार किनमेलका लागि आउनु पर्यो भने अर्को जोर कपडा बोकेर आउनु पर्ने अवस्था छ । यो दुरदशा कहिलेसम्म ? नागरिकले भोगेको पीडालाई सम्बन्धित निकायहरुका जिम्मेवार ब्याक्तिहरुले कहिले अनुभुत गर्लान ? प्रश्न उठाउदा सुन्ने पनि कोही छैन ।

दमकका सडक देख्नेहरु, हिड्नेहरु र आसपासमा पसल गर्नेहरुले भगवान पुकार्न बाहेक गर्न सक्ने अवस्था देखिदैन । अरुलाई पुकार्दा, सरकारी निकाय पुकार्दा, स्थानीय, प्रदेश र संघीय सरकार पुकार्दा हुने केही देखिएको छैन । किनकी २ बर्ष अघि भत्काईएको हिमाबि सडक हेरे पुग्छ । अब बाँकी भगवान पुकार्न बाहेक के हुनसक्छ र ? हे राम !