बर्षौदेखिका हरिया रुख काँटिदा उजाड बन्यो दमक
बिष्णुप्रसाद पोखरेल
दमक । झापाको सडक किनार उजाड बनेकाछन् । स्थानीय सरकारहरुले आफ्नो शहरी क्षेत्रलाई हरियाली बनाउनका लागि बिभिन्न आकर्षक प्रजातीका बोटविरुवा लगाएका थिए भने बर्षौदेखि रहेका बरपिपल लगायतका रुखहरु काटिदा सडक किनार उजाड बनेकाछन् ।
हरित नगर भनिएको दमकका मुख्य बजारका पुराना र नयाँ गरेर एकसयभन्दा बढि हरियाली रुखहरु काटिएकाछन् । दमकको मुख्य चोकमा रहेका ठुला बरिपिपलहरु काटिदा शितल छहारीहरु सबै मासिएकाछन् । शितल छहारीका लागि स्थानीय सरकारले बस्ने ठाँउहरु निर्माण गरेको थियो ।
रुख त काटिए तर सडक कहिले बन्ने हो भन्ने चिन्ता छ, दमकमा रुख काटिदै गर्दा ७८ बर्षिया श्याम अधिकारीले भन्नुभयो । हामी रुखको फेदमुनी शितल तापेर घण्टौ सम्म गफ गरेर बस्ने गरेका थियौ, उहाँको भनाई छ । अब हामी बस्ने ठाँउसंगै लोभलाग्दो हरियाली पनि मासियो, उहाँको गुनासो थियो ।
झापामा मात्र करिब पाँच हजार रुख काटिएकाछन् । नेपालको पुर्वी नाँका काँकडभिट्टादेखि सितापुरीसम्मको पूर्वी खण्ड र सितापुरीदेखि मावा खोलासम्मको पश्चिम खण्ड गरी झापामा ४ हजार ९ सय ५७ वटा रुख काटिने डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषि पराजुलीले बताउनु भएको छ ।
रुख हटाउनका लागि डिभिजन वन कार्यालयका प्रमुख अध्यक्ष रहने गरी जिल्ला प्रशासन कार्यालयका अधिकृत, मालपोत कार्यालयका अधिकृत, नापी कार्यालयका अधिकृत र जिल्ला समन्वय समितिको कार्यालयका अधिकृत सदस्य तथा सम्बन्धित आयोजना प्रमुख सदस्य सचिव रहने गरी रुख कटान सिफारिस समिति रहने गर्छ । यहि समितिको सिफारीस अनुसार रुखहरु कटान भएकाहुन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्म चार लेन सडक विस्तार गर्ने क्रममा रुखहरु काटिएकाहुन् । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा करिब ४८ अर्ब रुपैयाँको लागतमा सडक निर्माणको काम शुरु भएको हो ।
एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ बन्ने योजना अन्र्तगत सडक बिस्तार हँुदैछ । भारतले नेपालको पुर्वी सीमा नाँका काकडभिट्टासम्म सडक बिस्तार गरेर ल्याइसकेको छ । मेची खोलामा पुल समेत बनेर सञ्चालनमा आइसकेको छ ।