दमकमा चोरीका घटना बढे, पसलदेखि अस्पतालसम्म चोररुको बिगबिगी
दमक/ चाडपर्वसँगै झापामा असुरक्षा बढेको छ । जिल्लाको पश्चिमी क्षेत्र दमक मुख्य बजार रहेको भए पनि यहाँको व्यवसायिक सुरक्षामा चुनौती देखिएको व्यवसायीहरुले बताएका छन् । दमकको साविक पश्चीम बस स्टेण्ड नजिकैको एक मोवाइल पसलमा बुधबार राती सटर फोडेर चोरी भएको हो ।
हेमन्त ओलीले सञ्चालन गर्दै आएको सो मोवाइल पसलमा लाखौं मुल्यका मोवाइलसँगै अन्य सामानहरु चोरी भएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए । अध्यक्ष गुरागाइँका अनुसार चाडपर्वको याम शुरु भएसँगै दमक बजार क्षेत्र र आसपासको भागमा दुले चोरीका घट्ना दिनहुँ जसो हुने गरेका छन् । केही दिन अघि दमकको दमक अस्पतालको अण्डरग्राउण्ड पार्किङस्थलबाटै एउटा मोटरसाइकल चोरी भएको छ । त्यस्तै आम्दा अस्पताल भित्र भर्ना गरिएका बिरामी र कुरुवाका दुई थान मोवाइल एकै समयमा चोरी भएका बताइएको छ । दमकका अधिकांश अस्पताल भित्र पर्याप्त सुरक्षा सावधानी नअपनाइँदा बिरामी हेर्ने निहुँ गरेर चोरी गर्ने योजनासहित उच्छृखंल समुहहरु प्रवेश गर्ने गरेका छन् ।
त्यस्तै मध्यरातमा कतिपय होटलहरुमा धम्काउने, डर त्रास देखाएर अराजक समुह प्रवेश गर्ने गर्दा होटल व्यवसाय समेत सुरक्षित हुन नसकेको सम्बद्ध व्यवसायीहरुले बताएका छन् । बजार क्षेत्रमा चाडबाडको निहुँ पारेर व्यवसायिक रुपमा जुवाजन्य गतिबिधि हुने क्रम पनि उच्च भएको छ । दमक बजार र यहाँ चोक, गल्लीहरुका साथै एकान्त ठाउँ खोजेर व्यवसायिक रुपमा तास जुवा खेल्ने खेलाउने समुह सक्रिय भएपनि यसलाई रोक्न सुरक्षा निकायको ध्यान पुगेको देखिँदैन ।
मादक पदार्थको जथाभावी खुल्ला विक्री वितरण , जुवाजन्य क्रियाकलाप र चर्को ध्वनी प्रदुषण गराउँदै असुरक्षित रुपमा विस्फोटक पदार्थ एवं आतसवाजीहरु गराउने क्रियाकलापहरुले सर्वसाधारण नागरिकहरुमा त्रासको वातावरण सिर्जना भएको छ । बालबालिकाहरु यस किसिमका पटाका र आतसवाजीको प्रयोगका कारण जोखिममा परेका छन् । तीन दिन अघि दमक बजार क्षेत्रमा ६ बर्षिय एक बालक पटाका पडकिँदा घाईते भएका छन् । बिद्यम अग्रवाल नाम गरेका ति बालकको अनुहार र आँखामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रहरी कार्यालय झापाले सो घट्नाको पुष्टि गरे पनि सो बारेमा थप जानकारी दिन अस्विकार गरेका छन् ।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी निशान थापाले सो घट्नाबारे थप बताउन नमिल्ने पनि हुन सक्ने भन्दै विस्तृत जानकारी दिन अस्विकार गरे । बढ्दो चोरी र अबैध क्रियाकलापहरु रोक्न सुरक्षा निकायको ध्यान जानुपर्ने दमक उदोग वाणिज्य संघका अध्यक्ष गुरागाइँको भनाई छ । अध्यक्ष गुरागाइँ भन्छन– चोरीका घट्ना एकदमै बढेका छन् । साता अघि दमकको ३ नम्बर वडास्थित मावा पुल छेउमा भएको जग्गा विवादमा एक जनाको हत्या भएको थियो ।