दमकमा नीजि बिद्यालय बर्गिकरण बन्यो बिबादस्पद !
बिष्णुप्रसाद पोखरेल
दमक। झापामा नै पहिलो पटक दमक नगरपालिकाले नीजि बिद्यालयहरुको बर्गीकरण गरेको छ । विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०८० अनुसार नीजि बिद्यालयहरुको बर्गीकरण गरेर सोही अनुसारको शुल्क निर्धारण गरिएको दमक नगर शिक्षा समितिका संयोजक कुवेर भट्टराईले बताउनु भएको छ ।
लामो समय लगाएर बिद्यालयहरुको स्थलगत निरिक्षण र प्रश्नावली अनुसारको जवाफलाई आधार बनाएर बर्गिकरण सकिएको र सार्वजनिक गर्ने तयारी गरिएको उहाँले जानकारी दिनु भएको छ । बिद्यालयहरुलाई ५ वटा बर्गमा समावेश गरिएको छ । ‘क’ देखि ‘घ’ सम्म ४ वटा र एक वटा ग्रेडमा नपरेका बिद्यालयहरु छुट्याईएको उहाँले जनाउनु भयो ।
८० भन्दा बढि अंक प्राप्त गर्नेलाई पहिलो, ६० देखि ७९ सम्म ख बर्ग, ५० भन्दा माथिलाई ग बर्ग र त्यो भन्दा तललाई घ बर्गमा समावेश गरिएको छ । यो झापामा नै पहिलो हो र यसलाई कार्यपालिका बैठकले पनि अनुमोदन गरिसकेको छ, भट्टराईले भन्नुभयो । वालमैत्री संरचनादेखि लिएर बिद्यालयसंग जोडिएका सबै पक्षलाई आधार बनाईएको उहाँले उल्लेख गर्नु भएको छ ।
आधिकारीक रुपमा नगरपालिका सार्वजनिक नगरी सामाजिक सञ्जालमा बिद्यालय बर्गीकरणको नतिजा सार्वजनिक भएपछि यो बिबाद रहित भने बनेको छैन । सोमबार बर्गिकरण सार्वजनिक भएपनि तीनदिन अघि देखि नै फेसबुकमा छरपस्ट रहेको थियो । उक्त छरपस्ट भएको एक प्रतिवेलनमा कम अंक ल्याउनेलाई ख र त्यो भन्दा बढि अंक ल्याउनेलाई ग बर्गमा राखिएको थियो ।
५५.५ अंक प्राप्त गर्ने स्कुल ख बर्ग ५८.२५ अंक प्राप्त गर्ने स्कुल ग बर्गमा राखेको लिस्ट सार्वजनिक भएको थियो । रोजियट स्कूलले ५५.५ मात्र अंक ल्याएको त्यो प्रतिवेदनमा उल्लेख थियो । ५८.२५ बिद्यालक्ष्मी स्कूलले ल्याएको थियो । आज सार्वजनिक भएको बर्गिकरणमा रोजियटलाई ख मा र बिद्यालक्ष्मीलाई ग मा राखिएको छ । यसले बिबादस्पद बनेको छ ।
यसले पनि शिक्षा समिति र शिक्षा शाखा दबाब वा प्रभाव परेको शंका गर्ने ठाँउ रहेको बताइन्छ । बिद्यालयको बर्गिकरण गर्दा अंक सहितको कच्चा प्रतिवेदन सार्वजनिक भएपनि नगरपालिकाले पछिल्लो समयमा अंक बेगर सार्वजनिक गरेको छ ।

