२०८३ जेष्ठ २०, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ महिना अगाडि

बिष्णुप्रसाद पोखरेल

मैले जे देखे त्यहि लेखेँ

 

दमक/नेपाली राजनीति र निर्वाचनको सरगर्मी बढ्दै जाँदा सडकदेखि सामाजिक सञ्जालका भित्ताहरूसम्म एउटै बहस छ— ‘मत’। तर, के यो ‘मत’ केवल एउटा कागजको टुक्रामा छाप लगाउने काम मात्र हो? पक्कै होइन। यो त आगामी पाँच वर्षका लागि हाम्रो भाग्य, हाम्रा सन्तानको भविष्य र राष्ट्रको स्वाभिमान कोर्ने एउटा शक्तिशाली हस्ताक्षर हो। दुर्भाग्यवश, पछिल्लो समय निर्वाचन नजिकिँदै गर्दा ‘मत’ लाई बुझ्ने र बुझाउने शैलीमा जुन अराजकता देखिएको छ, त्यसले हाम्रो लोकतन्त्रको जगलाई नै थिलोथिलो बनाउँदै लगेको भान हुन्छ।

गोपनीयता: लोकतन्त्रको प्राण

निर्वाचनको सबैभन्दा सुन्दर पक्ष भनेकै ‘गोपनीयता’ हो। कसलाई मत दिने? कुन विचारलाई अँगाल्ने? यो पूर्ण रूपमा व्यक्तिको नितान्त व्यक्तिगत र नैसर्गिक अधिकार हो। संविधानले नै सुनिश्चित गरेको गोपनीयताको हकलाई आज सामाजिक सञ्जालको ‘लाइक’ र ‘कमेन्ट’ सँग तुलना गर्नु आफैँमा विडम्बनापूर्ण छ। यदि कसैको लोकप्रियता र विजयको मापन फेसबुकका भित्तामा हुने ‘इन्गेजमेन्ट’ बाटै हुने भए, निर्वाचनको करोडौँ खर्च र मतदानको लामो लाइन किन बस्नुपथ्र्यो र?

मतदान त त्यो पवित्र कर्म हो, जुन शान्त दिमागले, स्थिर मनले र विवेकको कसीमा घोटेर गरिन्छ। तर आज लहड, आवेग र अरूको देखासिखीमा लागेर आफ्नो विवेक अरूलाई सुम्पिने प्रवृत्ति हाबी हुँदैछ। यो ‘लैलै’ मा लाग्ने रोगले देशलाई सही गन्तव्यमा पुर्‍याउन सक्दैन।

प्रतिनिधि कि केवल नामधारी?

हामीले चुन्ने प्रतिनिधि केवल एउटा व्यक्ति मात्र होइन। उनीहरू त हाम्रा आवाज हुन्, जो संसदको रोष्ट्रममा उभिएर हाम्रा अभाव, आँसु र आवश्यकताका बारेमा बोल्नुपर्ने हुन्छ। उनीहरू त हुलाकी हुन्, जसले दुर्गमका बस्तीका समस्याहरू सिंहदरबारको कानसम्म पुर्‍याउनुपर्छ। अझ महत्त्वपूर्ण कुरा, उनीहरू त ती व्यक्ति हुन् जसले देशका लागि नियम, कानुन बनाउँछन् र आवश्यक पर्दा संविधान संशोधन गरेर मुलुकलाई निकास दिन्छन्।

के हामीले यस्तो गम्भीर जिम्मेवारी बोक्ने व्यक्तिलाई फेसबुकको भाइरल भिडियो हेरेर चुन्दैछौँ? वा कसैको अनुहार हेरेकै भरमा आफ्नो भविष्य सुम्पिँदैछौँ? यो प्रश्न आज हरेक मतदाताले आफैँलाई सोध्नुपर्ने बेला आएको छ।

सामाजिक सञ्जालको अश्लीलता र दबाबको राजनीति

अहिलेको चुनाव प्रचारको शैली देख्दा अचम्म  लाग्छ । कसैले आफ्नो मन परेको उम्मेदवारलाई समर्थन गर्दा वा अर्कोलाई मत दिन्छु भन्दा उसलाई ‘झोले’, ‘मासुभाते’ जस्ता तुच्छ शब्दले प्रहार गरिन्छ। अश्लील गाली र मानमर्दनको पराकाष्ठा नाघिएको छ। आफ्नै आमाबाबु, छरछिमेक र आफन्तलाई मत परिवर्तन गर्न दबाब दिने, उनीहरूलाई मानसिक यातना दिने कार्य कतिसम्म न्यायोचित छ?

विदेशी भूमिमा बसेर होस् वा स्वदेशमै, कसैको व्यक्तिगत छनौटमाथि हस्तक्षेप गर्नु र दबाब दिनु एक प्रकारको ‘बौद्धिक अपराध’ हो। विचार परिवर्तन बहसले गरिन्छ, दबाब वा गालीले होइन। जबरजस्ती मत परिवर्तन गराउन खोज्नुले हामी कस्तो संस्कारको विकास गर्दैछौँ भन्ने कुराको झल्को दिन्छ। यो लोकतन्त्र होइन, यो त ‘भीडतन्त्र’ को एउटा कुरूप नमुना हो।

“विचारको कदर, लोकतन्त्रको सुन्दरता”

लोकतन्त्रको असली सुन्दरता भनेकै वैचारिक स्वतन्त्रता हो। हरेक व्यक्तिको आफ्नो मत, रोजाइ र दृष्टिकोण हुन्छ, जसको सम्मान गर्नु हाम्रो नागरिक कर्तव्य हो। कसैलाई आफ्नो इच्छाविपरीत मत बदल्न दबाब दिनु वा विचारकै आधारमा घोचपेच र अपमान गर्नु लोकतान्त्रिक संस्कार होइन।

निर्वाचनको समयमा गाली-गलौज र जबरजस्तीभन्दा पनि स्वस्थ बहस र स्वैच्छिक सहभागितालाई प्राथमिकता दिनुपर्छ। आफ्ना आफन्त र छरछिमेकलाई डर वा प्रलोभनमा पारेर होइन, विवेक प्रयोग गरी मतदान गर्न प्रेरित गरौँ। अरूको निर्णयको कदर गरौँ र संयमित बनौँ। आखिर, विचार फरक भए पनि हाम्रो लक्ष्य समृद्ध समाज निर्माण नै हो।

गरिबीको फाइदा: निन्दनीय खेल

सबैभन्दा दुःखद पक्ष त विपन्न बस्तीहरूमा देखिन्छ। जहाँ भोक र अभाव छ, त्यहाँ पैसा, कपडा र खाद्यान्न बाँडेर मत किन्न खोज्नु मानवताकै अपमान हो। कसैको गरिबीलाई सत्तामा पुग्ने भर्‍याङ बनाउनु निकृष्ट कार्य हो। अलिकति चामल वा केही थान कपडामा पाँच वर्षको अधिकार बेच्नु भनेको आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नु सरह हो। यस्ता कार्यहरू रोक्न राज्य त लाग्नुपर्छ नै, स्वयं मतदाता पनि सचेत हुन जरुरी छ।

विवेकको प्रयोग गरौँ

मतदान गर्नु भनेको एउटा उत्सव हो, तर यो उत्सवमा बेहोसी हुनु हुँदैन। कसैले दबाब दियो भन्दैमा वा कसैले पैसा बाँड्यो भन्दैमा आफ्नो इमान नबेचौँ। आफ्ना बाबु-आमालाई गाली गरेर वा छिमेकीसँग सम्बन्ध बिगारेर पाउने विजयको कुनै मूल्य हुँदैन।

कुनै पनि उम्मेदवारको विगत हेरौँ, उसको वर्तमानको सक्रियतालाई बुझौँ र भविष्यको योजनालाई नियालौँ। अरूका कुरा सुनौँ, तर अन्तिम निर्णय आफ्नै हृदयबाट लिऔँ। फेसबुकका रिलहरू र टिकटकका भिडियोहरू क्षणिक हुन्, तर तपाईंले हाल्ने एक मतले देशको पाँच वर्षको बाटो तय गर्छ।

त्यसैले, मतदान गर्दा एक्लै सोचौँ, आफैँलाई सोधौँ— के म मेरो देश र मेरो क्षेत्रको भविष्य सही हातमा सुम्पिँदैछु ? विवेकको मत नै वास्तवमा ‘पवित्र मत’ हो। यो कसैको दबाबमा होइन, आफ्नो स्वविवेक र राष्ट्रप्रेमले निर्देशित हुनुपर्छ।