२०८३ साउन २३, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता १५ घण्टा अगाडि

भोलि अर्थात् साउन २३ गते शनिबार कोशी प्रदेशका पाँच जिल्लामा १२ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ। प्राधिकरणले सूचना जारी गर्दै झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा पूर्णरूपमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

यस्तै, मोरङको उर्लाबारी र पथरी क्षेत्रमा पनि दिनभर विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार मोरङको केरौन सबस्टेसनका केही विद्युतीय उपकरण परीक्षण तथा सबस्टेसन सञ्चालनसम्बन्धी काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।

निर्धारित समयअघि नै काम सम्पन्न भएमा विद्युत् आपूर्ति पुनः सञ्चालन हुन सक्ने भए पनि तोकिएको समयसम्म विद्युत् बन्द रहने भएकाले उपभोक्तालाई आवश्यक तयारी गर्न प्राधिकरणले आग्रह गरेको छ।