झापामा चिठ्ठा तानेर बाँडियो युरिया
झापा । झापाको कमल गाउँपालिका–६ लखनपुरस्थित साना किसान सहकारी संस्थामा बिहीबार युरिया मल लिन पुगेका किसानले मल पाउन चिठ्ठा तान्नुपरेको छ।
सहकारीमा जम्मा पाँच बोरा युरिया मल उपलब्ध थियो। तर मल लिन बिहानैदेखि करिब ५० जना किसान पुगेपछि सबैलाई मल उपलब्ध गराउन नसकिने अवस्था बनेको थियो। त्यसपछि सुरक्षाकर्मीको उपस्थितिमा चिठ्ठा प्रणालीमार्फत मल वितरण गरिएको हो।
धानमा मल हाल्ने मुख्य समयमा युरिया मलको अभाव भएपछि किसानहरू टाढाटाढाबाट सहकारीमा पुगेका थिए। कतिपय किसान साइकल चढेर तथा कतिपय सार्वजनिक सवारीसाधन प्रयोग गरी मल लिन आएका थिए।
मल लिन करिब १० किलोमिटर साइकल चलाएर आएका एक किसानले खेतमा धानले मल कुरिरहेको तर मल नपाए बालीमा असर पर्ने बताए। अर्का किसानले भाडा तिरेर तथा दिनभरको काम छाडेर मल लिन आए पनि रित्तै घर फर्कनुपरेको गुनासो गरे।
मलको मात्रा अत्यन्त न्यून र किसानको संख्या धेरै भएपछि चिठ्ठा तान्दा पाँच जना किसानले एक–एक बोरा युरिया पाए। बाँकी ४५ जना किसान भने मल नपाई फर्कन बाध्य भए।
किसानहरूका अनुसार खेती गर्ने समयमा हरेक वर्ष मलको अभाव हुने गरेको छ। समयमै मल नपाउँदा धानको उत्पादनमा असर पर्ने र त्यसको प्रत्यक्ष आर्थिक भार किसानले नै बेहोर्नुपर्ने उनीहरूको गुनासो छ।
मल वितरणका लागि सहकारीमा सुरक्षाकर्मीको उपस्थिति र व्यवस्थित प्रक्रिया भए पनि किसानहरूले भने चिठ्ठामार्फत मल पाउने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्। उनीहरूले खेतीको समयमा आवश्यक मात्रामा मल सहज रूपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
कृषिलाई मुलुकको अर्थतन्त्रको आधार तथा किसानलाई अन्न उत्पादनको मुख्य आधार मानिए पनि खेतीको महत्वपूर्ण समयमा किसानले आवश्यक मलसमेत सहज रूपमा पाउन नसकेको यो घटनाले कृषि सामग्री वितरण प्रणालीप्रति प्रश्न उठाएको छ।

