२०८३ साउन २३, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता १४ घण्टा अगाडि

झापा । झापा जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढ्दै गएको देखिएको छ। झापा जिल्ला अदालतको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले जिल्लामा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा बढ्दो क्रममा रहेको देखाएको हो।

अदालतका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म तीन वर्षको अवधिमा ३ हजार ९ सय वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। तीमध्ये २ हजार ३ सय ६० वटा मुद्दा दुवै पक्षको आपसी सहमतिमा मिलापत्रमार्फत टुंगिएका छन् भने १ हजार ५ सय ४० वटा मुद्दा अदालतबाट फैसला भएका छन्।

अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतका अनुसार पछिल्ला दुई आर्थिक वर्षमा मात्रै सम्बन्धविच्छेदका २ हजार ७ सय १४ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये १ हजार ६ सय ५१ वटा मुद्दा मिलापत्रमार्फत टुंगिएका छन्।

आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षबाट सरी आएका तथा नयाँ दर्ता भएका गरी सम्बन्धविच्छेदसम्बन्धी १ हजार ६ सय ७० वटा मुद्दाको लगत रहेको अदालतले जनाएको छ। त्यसमध्ये १ हजार ३ सय ४९ वटा मुद्दा फर्छ्यौट भएका छन् भने ३ सय २१ वटा मुद्दा विचाराधीन छन्।

गत आर्थिक वर्षमा मात्रै नयाँ सम्बन्धविच्छेदका १ हजार ३ सय ७३ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये ८ सय १६ वटा मुद्दा मिलापत्रमार्फत टुंगिएका छन् भने ३ सय ७९ वटा मुद्दामा फैसला भएको अदालतका सूचना अधिकारी बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार घरायसी विवाद, वैदेशिक रोजगारी, सामाजिक संरचनामा आएको परिवर्तन तथा संवैधानिक अधिकारप्रतिको बढ्दो चेतनालगायत कारणले पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएको देखिएको छ। बसाइँसराइ, आधुनिक जीवनशैली र आर्थिक अवस्थाले पनि पारिवारिक सम्बन्धमा प्रभाव पारिरहेको उनको भनाइ छ।

सम्बन्धविच्छेदका मुद्दा बढिरहे पनि अदालतले फैसला कार्यान्वयनतर्फ भने उल्लेख्य प्रगति गरेको जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा फैसला कार्यान्वयनतर्फ ९ सय ८५ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी १ हजार २ सय २८ वटा मुद्दा फर्छ्यौट भएका छन्।

अदालतका अनुसार यो लक्ष्यको १२४.६७ प्रतिशत प्रगति हो। सम्बन्धविच्छेदलगायत पारिवारिक विवादका मुद्दा बढिरहेको अवस्थामा अदालतबाट हुने मुद्दा फर्छ्यौट र फैसला कार्यान्वयनको प्रगतिलाई भने सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।

झापामा तीन वर्षमै करिब चार हजार सम्बन्धविच्छेदका मुद्दा अदालतसम्म पुग्नुले पारिवारिक सम्बन्धमा देखिएको परिवर्तनलाई मात्र होइन, बदलिँदो सामाजिक, आर्थिक तथा वैदेशिक रोजगारीको प्रभावलाई समेत उजागर गरेको छ।