मैले जे देखे त्यहीँ लेखे-ग्याँसको अभावमा बिद्यार्थीको पीडा
बिष्णुप्रसाद पोखरेल
मैले जे देखे त्यही लेखे
दमकको एउटा ग्याँस डिपो अगाडि एकजना विद्यार्थी भेटिइन्। ग्याँसको खोजीमा आएकी उनी निराश थिइन्। उनले सुनाइन्, “ग्याँस नभएर खाना खान पाएका छैनौँ। होटलमा चाउमिन, चाउचाउ र चटपटे खाएर बसेका छौँ। यस्तै अवस्था रहिरह्यो भने पढाइ छाडेर घर पाँचथर फर्किनुपर्ने अवस्था आउँछ।”
उनको यो भनाइ एउटा विद्यार्थीको मात्र पीडा होइन। दमक, कमललगायतका क्षेत्रमा डेरामा बसेर अध्ययन गर्ने धेरै विद्यार्थी र परिवार अहिले खाना पकाउने ग्याँसको अभावले प्रभावित भएका छन्।
विशेषगरी एउटै ग्याँसमा निर्भर विद्यार्थीहरू बढी समस्यामा छन्। ग्याँस सकिएपछि काँधमा खाली सिलिण्डर बोकेर डिपो धाउने र भरिएको सिलिण्डर लिएर फर्किने उनीहरूको दैनिकी अहिले बदलिएको छ। सिलिण्डर बोकेर डिपो पुग्दा पनि ग्याँस पाइने सुनिश्चितता छैन। घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था छ।
पहिले ग्याँस सकिनासाथ अर्को सिलिण्डर ल्याएर खाना पकाउनेहरू अहिले ग्याँस नपाउँदा भोकै बस्नुपर्ने अवस्थासम्म पुगेका छन्। विद्यार्थीका लागि समस्या झन् गम्भीर छ। डेरामा बस्ने, आफैँ खाना पकाएर पढ्ने विद्यार्थीलाई ग्याँस अभावले पढाइसँगै दैनिक जीवनमै असर पारेको छ।
सडकमा हिँड्दा पनि अहिले ग्याँस अभावको दृश्य देखिन्छ। साइकल, सिटी सफारीदेखि मोटरसाइकलसम्ममा खाली सिलिण्डर बोकेर मानिसहरू ग्याँसको खोजीमा हिँडिरहेका भेटिन्छन्। ग्याँस डिपोअगाडि प्रायः लामो लाइन देखिन्छ।
तर प्रश्न उठ्छ—वास्तवमा ग्याँसको अभाव भएको हो कि कृत्रिम अभाव सिर्जना गरिएको हो?
दमक, कमललगायतका पालिकामा विगतमा कति ग्याँस खपत हुन्थ्यो र अहिले कति ग्याँस भित्रिरहेको छ भन्ने स्पष्ट तथ्याङ्क सार्वजनिक रूपमा देखिँदैन। आपूर्ति घटेको हो वा वितरण प्रणालीमै समस्या छ भन्नेबारे पनि उपभोक्ता अन्योलमा छन्।
उपभोक्तालाई चाहिएको कुरा अनुमान होइन, तथ्य हो। सम्बन्धित निकायले यहाँ पहिले कति ग्याँस आउँथ्यो, अहिले कति आइरहेको छ र मागअनुसार कति कमी छ भन्ने तथ्य सार्वजनिक गर्न सके धेरै प्रश्नको जवाफ आफैँ आउनेछ।
ग्याँसको अभावको सबैभन्दा ठूलो मार भने सोझासिधा र बोल्न नसक्ने उपभोक्तामाथि परेको छ। लाइनमा बसेर पनि ग्याँस नपाउने, पटक–पटक डिपो धाउनुपर्ने र अन्ततः महँगो होटलको खाना खान बाध्य हुने उनीहरूको पीडा सजिलै देखिँदैन।
बोल्न सक्नेहरू पनि हैरान छन्। तर आफ्नो समस्या राख्न नसक्नेहरू झन् धेरै पीडामा छन्।
ग्याँसको विकल्पका रूपमा विद्युतीय चुलो अर्थात् इन्डक्सन प्रयोग गर्न सकिन्छ। तर त्यसका लागि सुरुमै पैसा खर्च गर्नुपर्छ। सबै परिवार वा विद्यार्थीका लागि तत्काल इन्डक्सन किन्न सक्ने अवस्था नहुन सक्छ। त्यसमाथि विद्युत् आपूर्ति नियमित नहुँदा इन्डक्सन पनि भरपर्दो विकल्प बन्न सकेको छैन। बिजुलीको महसुल पनि उपभोक्ताका लागि अर्को चिन्ताको विषय हो।
अन्ततः प्रश्न ग्याँसको सिलिण्डरको मात्र होइन, नागरिकको भान्सासम्म सहज रूपमा खाना पकाउने इन्धन पुर्याउने राज्यको जिम्मेवारीको पनि हो।
ग्याँस अभावको वास्तविक कारण के हो? आपूर्ति घटेको हो भने किन घट्यो? वितरणमा समस्या हो भने कहाँ छ? कृत्रिम अभाव हो भने कसले गरिरहेको छ?
यी प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्छ।
किनकि खाली सिलिण्डर बोकेर घण्टौँ लाइनमा उभिएको नागरिकको हातमा केवल एउटा सिलिण्डर छैन—त्यसभित्र उसको भान्साको चिन्ता, विद्यार्थीको पढाइ र परिवारको दैनिक जीवन जोडिएको छ।
मैले जे देखेँ, त्यही लेखेँ। अब सम्बन्धित निकायले यसको वास्तविकता बताउनुपर्छ।

