२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेका हुन ।

निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते कार्यकाल समाप्त भएपछि सिलवाल नयाँ सदस्य सचिवमा नियुक्त भएका हुन । मन्त्रीस्तरीय निर्णयपछि खेलकूदमन्त्री विश्वकर्माबाट सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा सिलवालले सदस्य सचिवको सपथ लिए । प्रधानमन्त्री संरक्षक रहने राखेपमा युवा तथा खेलकूद मन्त्री अध्यक्ष रहने प्रावधान छ ।

सदस्य सचिवमा नियुक्त सिलवाल यसअघि निवर्तमान सदस्य सचिव विष्टद्वारा गठित नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष थिए । सिलवाल हिसान र गोल्डेन गेट कलेजको अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीको संस्थापक अध्यक्षसमेत हुन । राखेपको १८औं सदस्य सचिवका रुपमा नियुक्त भएका सिलवालले शपथ ग्रहणका साथै आजै त्रिपुरेश्वरस्थित राखेपको कार्यालय पुगेर पद बहालीसमेत गरे । उनले सबैलाई साथमा लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।