३४ बर्षमा के भयो ? एकपटक हेर्ने की !
छोटकरीमा हेरौ
सडक सञ्जालमा विस्तार
२०४८ मा ३ हजार ३९३ किलोमिटर रहेको राजमार्ग २०८२ मा बढेर १८ हजार ७०६ किलोमिटर पुगेको छ। त्यस्तै, स्थानीय सडक २ हजार ७६१ किलोमिटरबाट बढेर ६७ हजार २६९ किलोमिटर पुगेको छ। यसले देशभर यातायात पहुँच विस्तार भएको देखाउँछ।
स्वास्थ्य सूचकमा सुधार
औसत आयु ५४ वर्षबाट बढेर ७१ वर्ष पुगेको छ। मातृ मृत्युदर (प्रति लाख) ५३९ बाट घटेर १५१ मा झरेको छ भने शिशु मृत्युदर (प्रति हजार) १०१ बाट ३२ मा झरेको छ।
एक अस्पतालले सेवा दिने जनसंख्या १ लाख ५६ हजारबाट घटेर ३५ हजारमा झरेको छ भने एक चिकित्सकले हेर्ने जनसंख्या २२ हजारबाट घटेर १ हजार ७ सयमा सीमित भएको छ। सार्वजनिक अस्पताल १११ बाट ४३५ र स्वास्थ्य संस्था १ हजार १०० बाट ५ हजार ७५४ पुगेका छन्।
शिक्षामा व्यापक पहुँच
साक्षरता दर ३९ प्रतिशतबाट बढेर ७६ प्रतिशत पुगेको छ। प्राथमिक तहको भर्ना दर ६२ प्रतिशतबाट ९७ प्रतिशत पुगेको छ भने आधारभूत तह पूरा गर्ने दर २९ प्रतिशतबाट ८५ प्रतिशत पुगेको छ। माध्यमिक विद्यालयको संख्या १ हजार ९५५ बाट बढेर ११ हजार पुगेको छ।
ऊर्जा क्षेत्रमा फड्को
कुल जडित विद्युत क्षमता २३९ मेगावाटबाट बढेर ३ हजार ४ सय मेगावाट पुगेको छ। घरधुरी विद्युतीकरण १४ प्रतिशतबाट बढेर ९५ प्रतिशत पुगेको छ।
अर्थतन्त्रको आकार वृद्धि
कुल गार्हस्थ्य उत्पादन (GDP) ७ अर्ब ३० करोड रुपैयाँबाट बढेर ६१ खर्ब रुपैयाँ पुगेको छ। प्रतिव्यक्ति आय २०४ अमेरिकी डलरबाट १ हजार ९३४ अमेरिकी डलर पुगेको छ। वैदेशिक व्यापार २३ अर्बबाट २ हजार १९० अर्ब पुगेको छ भने गरिबीको रेखामुनि रहेको जनसंख्या ४९ प्रतिशतबाट घटेर २० प्रतिशतमा झरेको छ।
निष्कर्ष
३४ वर्षको अवधिमा नेपालले पूर्वाधार विस्तार, सामाजिक विकास र आर्थिक वृद्धिमा महत्वपूर्ण उपलब्धि हासिल गरेको देखिन्छ। यद्यपि गुणस्तरीय सेवा, रोजगारी सिर्जना, उत्पादन वृद्धि र सन्तुलित व्यापारजस्ता क्षेत्रमा अझै चुनौती कायम रहेको छ । विकास एक निरन्तर प्रक्रिया हो। ३४ वर्षमा जग तयार भएको छ। अबको हाम्रो बहस “केही भएन” बाट मोडिएर “भएका संरचनालाई कसरी गुणस्तरीय र उत्पादनमुखी बनाउने” भन्नेतर्फ केन्द्रित हुन जरुरी छ।

