संसदमा गगन थापाको प्रश्न :प्रधानमन्त्रीजी तपाईंको घुडामा कत्रो भ्वाङ परेको छ, बताइदिनुहुन्छ कि ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नाकामा गुणस्तरयुक्त विषादी परीक्षण गर्नुको सट्टा सरकारले आयातित तरकारी र फलफूल परीक्षण नै नगर्न खोजेकोमा आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले सरकारले विषादी परीक्षण नगरी तरकारी र फलफूल भित्र्याउन दिइने छैन भन्ने नियम लगाउने अपेक्षा गरे पनि त्यसविपरीत काम गरेको बताए । आयातित फलफूल र तरकारीमा विषादी परीक्षण गर्ने र अलैंची तथा अदुवाको समेत हिसाबकिताब गर्नुपर्ने सरकार पारीतिरबाट आएको मन्द आवाजले नै थला परेको थापाको भनाइ थियो ।
थापाले भने,‘पारितिरबाट आएको खोकीको मन्द आवाजले नै हाम्रो सरकार थला पर्यो, प्रधानमन्त्रीजी तपाईंको राष्ट्रवादी खुट्टा देखिसकिएकै हो। घुडामा कत्रो भ्वाङ परेको छ बताइदिनुहुन्छ कि ?’

