२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

धनकुटे कान्छाको कविता

के तपाईँले समयलाई देख्नु भयाे ?

जिन्दगी ह्याङ्गरमा झुण्डाएर
समय बाहिर निस्किएकाे छ
पर्ख मेरा आफन्तहरु
म ह्याङ्गर भएकाे छु ।।

याे बेला
समय क्यालेण्डरमा बस्छ भनेर
मान्छेहरु
शुभ कामना बाढिरहेछन्
र, साटिरहेछन् औपचारिकतामा सस्ता विज्ञापनहरु ।।

विज्ञापनमा गाँस,बाँस,कपास लेखिएकाे वर्षाैँ भयाे
अर्थात् यसाे भनाैँ शासकहरु वर्षाैदेखि विज्ञापन बेचिरहेछन्
र, हामी आश्वासनमा व्यवस्था खरिद गरिरहेछाैँ।।

अझ भनाैँ घाउका हामी बाेटहरु
घरी जिन्दावाद किन्छाैँ र घरी मुर्दावाद किन्छाैँ
र, उनीहरु काेर्रा बर्साउँदै मानवता माछा बजारमा सुकाउँछन्
र, राजनीतिकाे व्यापारमा जाेख्न थाल्छन्
मानवता हारेकाे र सिद्धान्त बिकेकाे याे घडी
हरेक पटक रगतका टाटाहरु समयसँग हामी साटिइरहन्छाैँ।
र, ह्याङ्गरमा झुण्ड्याउँदै ऊ घाेकाइरहेछ
काखी मुनि चेपिएका सपनाका इतिहासहरु।।

म भने यतिखेर
राेग, भाेक र शाेकले वर्षाैदेखि
पीडित र हतभागी याे देशकाे एउटा अनुहार
ह्याङ्गर भएकाे छु ।।

र, झुण्डिएकाे छु बुख्याँचा भएर
अर्थात् मानव सभ्यता लम्पसार परेकाे छ
र, प्रकृतिकाे सृष्टि आराम बिसाइरहेछ ।।

मलाई भित्र थुनेर
यति नै खेर समय बाहिर निस्किएकाे छ
र, ऊ एउटा गम्भीर प्रश्न बाेकेर बेपत्ता भएकाे छ।।

मानवता मर्दै गएकाे याे दुनियाँमा
के तपाईँले समयलाई देख्नु भयाे ???

( kabidhankute@gmail.com)