के तपाईलाई थाहा छ ? तामाको भाँडा, जसले राख्छ हाम्रो स्वास्थ्यको ख्याल !
नेपाली समाज र परम्परामा सदियौंदेखि प्रयोग हुने धेरै सामानहरुको मानव स्वास्थ्यसँग गहिरो सम्बन्ध हुने गरेको छ । यीमध्ये एक हो, तामाका भाँडाकुँडा । जो कुनै मेहनत बिना नै हाम्रो स्वास्थ्यको ख्याल राख्छ । तामाका वस्तुको उपयोग गर्दा शरिरलाई आवश्यक खनिज प्राप्त हुन्छ । जसबाट हामीले धेरै प्रकारका शरीरिक लाभ पाउन सक्छौं ।
तामा आफैं एक प्राकृतिक कीटाणु नाशक हो । आयुर्वेदमा पनि भनिएको छ, तामाको भाँडोमा रातभरि वा दिउँसो ८ घण्टासम्म राखेको पानी पिउनाले हाम्रो स्वास्थमा सकारात्मक असर पर्छ ।
तामाको भाँडामा राखेको पानी पिउनुको फाइदा
तामा पानीसँग एक रासायनिक प्रकृया गर्छ, जसले पानीमा एन्टी–ब्याक्टीरियल, एन्टी– इन्फ्लेमेटरी गुण पैदा गर्छ । यसको एन्टीब्याक्टीरियल गुण जसले तपाईंलाई किटाणुबाट बचाउँछ र शरीर स्वस्थ्य बनाउँछ । यसैगरी एन्टी– इन्फ्लेमेटरीले शरीर दुख्ने, ऐठन हुने समस्याको समाधान गर्छ ।
तामाको भाँडामा राखिएको पानी गर्भवती महिलाका लागि उत्तम मानिन्छ । तामा रातो रगत कोशिकाको निर्माणका लागि महत्वपूर्ण हो जो गर्भमा रहेको शिशुका लागि आवश्यक हुन्छ । (तर यसको मात्रा तय गर्नु पहिले चिकित्सकको सल्लाह लिनुपर्छ)
बजन कम गर्नका लागि तामाको भाँडामा राखिएको पानी राम्रो मानिन्छ । यस्तो भाँडामा राखेको पानी पिउनाले पाचनक्रियालाई मजबुद बनाउँछ भने शरिरमा भएको अनावश्यक बोसो पनि यसले घटाउँछ ।
तामा अर्थात कपरको भाँडामा राखिएको पानी पिउनाले तपाईको शरिरलाई चाहिने कपरको मात्रा सिधा पूर्ति हुन्छ । तामामा अम्लिय र क्षरिक गुण हुने भएकाले क्यान्सर जस्तो घातक रोगको रोकथामका लागि उपयुक्त मानिन्छ ।
त्यसैगरी थाइराइड लागि प्रभावकारी मानिन्छ भने आर्थराइटिसको दुखाई कम गर्न यसले मद्दत गर्छ ।
तामाको प्रयोगले ब्लडप्रेसर सही राख्न र कोलेस्ट्रोन कम गर्न उपयोगी मानिन्छ भने एनिमीया(रक्तअल्पता)को समस्याबाट राहत मिल्छ ।
तर तामाको भाडाँ वर्तन प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ,
तपाई तामाको भाँडाकुँडा जस्तै जग वा ग्लास प्रयोग गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोस् की ती भाँडाकुँडालाई सिधै माटो वा जमिनमाथि नराख्नुहोस् । जमिन वा माटोमाथि राख्नुभयो भने त्यहाँ कुनै प्रकारको रासायनिक प्रकृया हुँदैन र तपाईलाई त्यसबाट कुनै लाभ प्राप्त हुँदैन । त्यसैले तामाका जग वा ग्लासलाई काठमाथि वा अन्य भाँडाकुँडाकोमाथि राख्नुहोस् ।
तामाको भाँडामा राखिएको पानी खाइसकेपछि कमसेकम आधा घन्टासम्म दुध वा चिया नखानुहोस् ।
पानी जहिले पनि बसेर पिउनुहोस् ।
अन्य भाँडाकुँडा जस्तै प्रयोग गरिने तामाका भाँडाकुँडा पनि सफा गर्नुहोस् । तामाको भाँडाको पिंधमा हरियो रंग अर्थात कपर अक्साइड का ससाना कण जम्ने गर्छ, त्यसलाई सफा नगरिएर त्यसले शरिरलाई हानी पुर्याउन सक्छ ।
तामाको भाँडामा कागती, दही, अचार अर्थात कुनै पनि प्रकारका अमिलो , एसिडिक पदार्थ नराख्नुहोस् । कागती, अचार र दहीमा रहेको एसिडले तामाको भाँडासँग कृया गर्ने भएकाले त्यसले तपाईको शरिरलाई नोक्सान पुर्याउनसक्छ ।