प्रधानमन्त्रीले शुरुमा बोल्ने होइन, जवाफ दिने हो : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रधानमन्त्रीले पहिले बोल्ने नभई, सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन ।
मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अन्तरर्राष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे । उनले भने,‘प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो । पहिले उहाँले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ?’
संसदमा सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने देउवाको भनाई थियो । मंगलबार प्रतिनिधिसभा बैठकको शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्न लाग्दा कांग्रेसले सदनमा अबरोध गरेको थियो ।
‘कांग्रेसले गलत नजिर बसाल्यो’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भने प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय परम्परा नमानेर गलत नजिर बसाल्न खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्री बोल्न भनेर रोष्ट्रममा पुगिसकेका बेला नाराबाजी गर्नु र बोल्न नदिनु संसदीय परम्पराविरुद्ध रहेको उनको टिप्पणी थियो ।