२०८१ कार्तिक १८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

मलंगवा । सर्लाहीमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन । स्थानीयहरुको ढुंगामुढाबाट ८ जना प्रहरी घाइते छन ।

सर्लाहीको ईश्वरपुर नगरपालिका बाँकेमा भएको झडपको क्रममा प्रहरीको गोली लागेर इश्वरपुर–१३ बस्ने २७ वर्षका केवल महतोको मृत्यु भएको हो । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।
स्थानीय बाँके खोलामा अबैध उत्खननले बनेको खाल्डोमा डुबेर शनिबार एक बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ती माग गर्दै राजमार्ग अबरुद्ध गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको हो ।
खाल्डोमा डुबेका ईश्वरपुर नगरपालिका –१३ का लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको शब आइतवार विहान खाल्टोबाट निकालिएको थियो ।

आक्रोसित स्थानीयले ६ किलोमिटर टाढा पूर्व–पश्चिम राजमार्गमा शव लिएर प्रदर्शनमा उत्रिएपछि त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती बाक्लो पारिएको थियो ।
प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रधुम्न कार्कीका अनुसार राजमार्ग अवरुद्ध हटाउन सुरक्षाकर्मीले धेरैपटक आग्रह गर्दा पनि प्रदर्शनकारी टुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरेर ढुंगामुढा गरेपछि सुरुमा लाठी चार्ज, १५ राउन्ड अश्रु ग्यास र रबरको बुलेट प्रहार गरेको थियो । त्यसपछि पनि प्रदर्शनकारीले ढंगामुढा तीव्र गरेपछि प्रहरीले हवाइ फायर गरेको थियो । प्रहरीका अनुसार हवाइ फायरकै क्रममा गोली लागेर महतोको मृत्यु भएको हो ।