कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : बैठक पार्टीको संरचना निर्माणबारे केन्द्रीत हुने

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । ललितपुर सानेपास्थित केन्द्रिय कार्यालयमा अपरान्ह २ बजे बस्ने बैठकमा पार्टीको संरचना निर्माणका बारेमा छलफल केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीको संरचना निर्माणका विषयमा छलफल भएपनि ठोस निर्णय भने हुन सकेको छैन । संरचनामा ६० / ४० को अवधारणा अघि सारिए पनि दुबै पक्ष सहमति उन्मुख भने भईसकेका छैनन् । संस्थापन पक्ष पार्टीको संरचना निर्माण गर्ने पक्षमा देखिन्छ भने संस्थापन इतर पक्षले १४ औं महाधिवेशन केन्द्रित कार्यक्रम तयार गरेर जानुपर्नेमा जोड दिदैं आएको छ ।
प्रवक्ता शर्माले पार्टीको विधानले संगठनको अन्तरिम व्यवस्था बारे प्रष्ट व्यवस्था गरेको र नेपालको संविधान बमोजिमका नविन संरचनाहरू पार्टीको विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुरूप नै गठन हुने बताए । बैठकमा संशोधित विधान अनुसार नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले प्रतिवेदन प्रस्तुत गर्ने पनि उनले बताए ।
बैठकबाट नियमावली पारित भए पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुनेछ । यस्तै प्रथम चरणको जागरण अभियानको समीक्षा , भदौ २४ देखि शुरु हुने दोश्रो चरणको कार्यक्रम र भ्रातृ संस्थाका महाधिवेशन बारेमा पनि छलफल हुने कंग्रेसले जनाएको छ ।