पौडेल मृत्यु प्रकरण : गृहमन्त्रीको जवाफपछि प्रतिनिधिसभाको बैठक अवरुद्व
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ । सर्लाहीको कुमार पौडेलको मृत्यु सम्बन्धि गृहमन्त्री रामबहादुर थापाको जवाफ चित्तबुझ्दो भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले अवरोध गरेपछि बैठक सूचना टाँस गरेर स्थगित भएको हो।
कांग्रेसले उक्त घटनाका सम्बन्धमा संसदीय समिति गठन गर्न माग गर्दै सुरुमा १५ मिनेट बैठक स्थगित गराएको थियो। तर फेरि बैठक बसे पनि उनीहरुले चल्न दिएनन्।
यसअघि गृहमन्त्री रामबहादुर थापाले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा यही असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको बताएका थिए । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पु¥याउने र संविधान विरोधी गतिविधि गरेकाले प्रहरीसँगको मुठभेटमा पौडेलको निधन भएको गृहमन्त्रीको भनाइ थियो । उनले भने, “ कथित जिल्ला इन्चार्ज पौडेलले प्रहरी देख्नेबित्तिकै फायर गरेको र प्रहरीले जवाफी फायर गर्दा ‘मिस फायर’ भई उनको निधन भयो ।”
यस्तै यही असार १५ गते सर्लाहीको ईश्वरपुर नगरपालिका १३ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय अनुप रायको निधनपछि स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेको बताउँदै उनले यातायात सञ्चालन गर्ने क्रममा प्रहरीसँगको झडपमा स्थानीयवासी सरोजनारायण सिंहको मृत्यु भएको बताए ।
बालक रायको मृत्यु र झडपबारे छानबिन गर्न सरकारले समिति गठन गरेको उल्लेख गर्दै गृहमन्त्रीले भने,“ छानबिन समितिको प्रतिवेदन आएपछि दोषीमाथि कारवाही हुनेछ ।”
गृहमन्त्रीको जवाफमाथि चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिप्रश्न गरेका थिए । गृहमन्त्री थापाले सांसदको प्रश्नको जवाफमा सर्लाही घटनाका बारेमा सदनले आवश्यकता महसुस गरेका खण्डमा छानबिन समिति बनाउन सरकारलाई कुनै आपत्ति नभएको बताए । उनले भने,“ सर्लाहीको घटना दुःखद् हो, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार सचेत छ, जनतालाई दमन गर्ने नीति सरकारको छैन । ”
काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मुठभेटमा मारिएका भनिएका पौडेलको हात कसरी भाँच्चियो भन्दै उचित जवाफ दिन आग्रह गर्दै बालक रायको मृत्युका विषयमा न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले किन गोली चलाउनुप¥यो भन्ने प्रश्न गरे । सांसद खाँड र सोही दलका भरतकुमार शाह, उमा रेग्मी, देवेन्द्रराज कँडेल, डिला सङ्ग्रौला, मीनबहादुर विक, गगनकुमार थापा, मीना पाण्डे, दिलेन्द्रप्रसाद बडू र पार्वती डिसी चौधरीले पौडेलको मृत्यु र बालक रायको निधनका बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका थिए । राजपाका राजकिशोर यादव र प्रमोद साहले पनि सर्लाही घटनाबारे सरकारले बनीबनाउ उत्तर दिएको भन्दै आपत्ति जनाए । यसपछि पनि गृहमन्त्री थापाको जवाफमा चित्त नबुझेको भन्दै काँग्रेस र राजपाका सांसदले आआफ्ना आसनबाट उठेर छानबिन समिति गठनको माग गरेका थिए ।
सभामुख कृष्णबहादुर महराले संसदीय समिति गठनसम्बन्धी मागका विषयमा आवश्यक परामर्श गरेर निर्णय लिइने बताए । सभामुख बोलिरहँदा काँग्रेस र राजपाका सांसदले आआफ्नो आसनबाट उठेर रोष्ट्रम अगाडि आई नाराबाजी गरिरहे । नाराबाजीका बीचमा नेकपाका खगराज अधिकारीले प्रमुख प्रतिपक्षी दलका सांसदले असंसदीय शब्द प्रयोग गरेको भन्दै ती शब्द हटाउन माग गरे । त्यसपछि सभामुख महराले बैठक १५ मिनेट स्थगन गरेका थिए ।