२०८२ बैशाख ७, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ श्रावण २०७६, सोमबार

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताएका छन । बिपी कोइरालाको ३७औं स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको ‘बिपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए सह्य नहुने बताए ।

सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका देउवाले भने, “लोकतान्त्रिक मूल्य र मान्यतालाई कटौती गर्ने ढङ्गले विधेयक ल्याइएमा सदन अवरुद्ध मात्र होइन, सडक सङ्घर्षमा उत्रन पनि बाध्य हुने अवस्था हुन्छ । मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयक मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अङ्कुश लगाउने ढङ्गबाट ल्याएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ ।”

अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा व्यक्ति विशेषलाई दुःख दिने नियतबाट काम भइरहेको बताउँदै सभापति देउवाले व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको बताए ।

बिपीको विकासको सोचका आधारमा देशलाई अघि बढाउन सकिए छोटो समयमा समृद्धि हाँसिल गर्न सकिने बताउँदै सभापति देउवाले भने, “बिपीको विचार अहिले पनि सान्दर्भिक छ, लेखक, कथाकार, समाजवादी चिन्तकका रुपमा स्थापित उहाँको व्यक्तित्व साच्चिकै असाधारण छ ।”

राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई एकसाथ अघि बढाउनुपर्छ भन्ने मान्यतामा दृढ बिपीलाई राष्ट्रप्रति माया भएकै कारण मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको हो भन्दै उनले मुख्य कुरा भनेको प्रजातन्त्र हो, प्रजातन्त्रविनाको समाजवाद हँुदैन भन्ने उहाँको प्रष्ट धारणा थियो भने ।

उपसभापति विमलेन्द्र निधिले बिपीले जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रियता, लोकतन्त्र र समाजवादको वैचारिक आधार अघि सार्नुभएकाले देशका लागि प्रजातन्त्र नै अपरिहार्य शर्त हो भन्ने पक्षलाई सबैले मनन गर्नुपर्नेमा जोड दिए । सोही दलका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्रको विजयको हिसाबले बिपीको विचारले निकै ठूलो उचाइ प्राप्त गरेको बताए ।