नौ वर्षीया नेपाली बालिका लक्ष्मीको दिल्लीमा बलात्कार प्रयासपछि हत्या
बाजुरा । नेपालको बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कार प्रयासपछि हत्या गरिएको भेटिएको छ । पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीया लक्ष्मी चँदाराको बलात्कार प्रयाससँगै हत्या भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।
ती बालिकाको घर बाजुराको बुढीगंगा नगरपालिका–१ कुँडी हो। उनी बुवा देव चँदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन्। गत शुक्रबार पूर्वी दिल्लीको सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयास पछि हत्या भएको भारतस्थित नेपाली दूतावासमा कार्यरत एसएसपी प्रकाश अधिकारले टेलिफोनमार्फत बताएका छन्। उनको भारतीय नागरिक बसिम अहमद (सनु) ले हत्या गरेको भारतीय प्रहरीले जनाएको छ।
हत्यामा संलग्नलाई भारतीय प्रहरीले प्रक्राउ समेत गरिसकेको छ। बुवा देव चँदारा त्यही घरमा चौकीदारी गर्दै आएका थिए भने आमाले त्यही घरमा बसिम अहमदले चलाएको होस्टेलमा खाना पकाउने काम गर्थिन्।
शुक्रबार दिउँसो पौने १ बजे बुवा बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए। छोरी अचेत अवस्थामा फेला पारेपछि अस्पताल पुयाएका थिए, अस्पताल पुग्ने वितिकै चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए।
बालिकाको आइतबार पोष्टमार्टम पछि दाहसंस्कार गरिएको बताइएको छ।
भारतस्थित दूतावासमा कार्यरत एसएसपी अधिकारका अनुसार सोही घरमा होस्टेल चलाउँदै आएका भारतीय नागरिक बसिम अहमदले बलात्कार प्रयास पछि हत्या गरेको बताएका छन्। बलात्कार गर्न खोजेको र नमान्दा घाँटी च्यापेर हत्या गरेको अहमदले प्रहरी समक्ष स्वीकार गरेको जनाइएको छ।
पोष्टमार्टम गर्दा घाटीमा औला अट्काइएको छाप र गुप्ताङ्ग वरपर बलात्कार प्रयास गरिएको प्रमाण भेटिएको अधिकारीले बताए। भारतीय प्रहरीले बसिम अहमद हत्या र जवरजस्ती करणी दुवै मुद्दा चलाएको छ।

